तराईमा निर्वाचन गर्न आयोगले माग्यो सुरक्षाको प्रत्याभूति, गृह भन्छ- पूरक सुरक्षा रणनीति अपनाइएको छ

Advertisement

काठमाडौँ: नजिकिँदो असार १४ गतेका लागि तय भएको दोश्रो चरणको स्थानीय चुनावको सुरक्षा रणनीतिबारे आज निर्वाचन आयोगले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका पदाधिकारीहरुसंग छलफल गरेको छ ।

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्नेदेखि सम्पूर्ण निर्वाचन कार्यक्रम हुँदा भरपर्दो सुरक्षा व्यवस्था गरिनु पर्ने बारे सुरक्षा निकायका पदाधिकारीहरुसंग कुरा राखेका छन् ।

बुधबार निर्वाचन आयोगमा सुरक्षा समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त यादवले मतदाता, कर्मचारी, उमेदवारलाई सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताएका हुन् ।

दोस्रो चरणमा असार १४ गते हुने प्रदेश नं १, २, ५ र ७ का स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्ने पनि बैठकले निष्कर्ष निकालेको छ ।

छलफलमा अन्य आयुक्तहरूले बदलिँदो राजनीतिक परिस्थितिलाई समेत ध्यान दिई सुरक्षा प्रबन्ध मिलाउनुपर्ने आवश्यकता औंल्याएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा गृह सचिव लोकदर्शन रेग्मीले दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि सुरक्षा रणनीति तथा पुरक सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जानकारी दिए ।

उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

Advertisement

Advertisement

Advertisement