बाढी पहिरोले ७० मेगावाट विद्युत उत्पादन बन्द, आयात पनि प्रभावित, पूर्वी क्षेत्र अन्धकार

Advertisement

काठमाडौंः मनसुन सक्रियसँगै मुलुकभर भएको भारी बर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकभित्र करिव ७० मेगावाट विद्युत उत्पादन गर्ने आठवटा आयोजना प्रभावित भएका छन् भने भारतबाट विद्युत आपूर्ति हुने प्रसारणलाइन र सबस्टेशनहरुमा असर पुग्दा विद्युत आयातमा समेत अवरोध भएको छ ।

बाढी र पहिलोका कारण आन्तरिक तथा आयातित गरी करिव २२५ मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रणालीबाट विच्छेद भएको छ । काबेली–दमक १३२ केभी प्रसारण लाइनको टावर ढल्दा पूर्वका साना तथा मझौला आयोजनालाई असर पुगेको छ । भारी बर्षाका कारण संखुवासभास्थित तीन मेगावाटको पुवाखोला, ९९० किलोवाटको तल्लो पिलुवा, ४.४५ मेगावाटको हेवा खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

त्यस्तै, इलामस्थित २२ मेगावाटको माईखोला, सात मेगावाटको माइ क्यासकेट, ९.९८ मेगावाटको माथिल्लो माइखोला १४.९ मेगावाटको हेवा खोला ए र ७.६० मेगावाटको जोगमाई जलविद्युत आयोजना अवरुद्ध भएका छन् । शुक्रबार रातीदेखि निरन्तर भइरहेको वर्षाले पूर्वका आयोजनाहरु प्रभावित बनेका हुन भने भारतबाट आयात भइरहेको विजुली बन्द हुँदा कोशी पारीका सबै जिल्लाहरु प्रायः अन्धकार हुने स्थिति आएको छ ।

बाढीले प्रसारणलाइनदेखि बिजुलीका पोलहरु ढल्नुका साथै सबस्टेसनसमेत डुवानमा परेको छ । क्षति पुगेका ठाउँहरुमा पनि पानी जमेको र पानी परिरहेर बाढी आइरहेकाले मर्मतमा समस्या भएको विद्युत प्राधिकरणले जनाएको छ ।

यो क्षतिले पूर्वक्षेत्रमा लामो समय लोडसेडिङ कायम रहने देखिन्छ भने अन्य क्षेत्रमा पनि लोडसेडिङ हुने देखिन्छ । स्वतन्त्र उर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले विद्युत आपूर्ति रोकिँदा समग्र अर्थतन्त्र, उद्योग धन्दा र बत्ति बाल्न पाउने उपभोक्ताको अधिकारमा समेत असर पुग्ने भएकाले सरकारले लामो प्रक्रियातिर नलागेर छोटो प्रक्रियामा निर्माण तथा मर्मत गर्नुपर्ने बताउँछन् ।

उनी भन्छन, नियम र प्रक्रियातिर लागियो भने महिनौंसम्म पनि क्षति पुगेका प्रसारणलाइन र सबस्टेशनहरु बन्दैनन् । के गरेर हुन्छ, हप्तादेखि १५ दिनभित्र काम सक्नेगरी सरकार र प्राधिकरणले काम गर्नुपर्छ ।

nepal electricity authority press release-1

Advertisement

Advertisement

Advertisement