जुडोमा सेनाको बर्चस्व

Advertisement

काठमाडौँ: दुई दिनदेखि जारी आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा नेपालि सेनाका टोलि कूल ६ स्वर्ण जित्दै प्रथम भएको छ। नेपाल प्रहरीले कूल चार स्वर्ण हातपर्दै दोश्रोमा चित्त बुझाए ।

प्रतियोगिताको अन्तिम दिन आइतबार बन्दी सहायता नियोग (पाम) का रोशनबहादुर दोङ र त्रिभुवन आर्मी क्लबकी मनीता श्रेष्ठ प्रधान उत्कृष्ट खेलाडी घोषित भए ।

दुवै आ–आफ्नो तौल समूहका विजेता हुन् । पहिलो दिन शनिबार रोशनले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए । मनीताले उत्कृष्ट इप्पोनको उपाधि पनि हात पारिन् । पुरुषमा यो विधामा नेपाल प्रहरी क्लबका श्रीराम मकाजु उत्कृष्ट भए ।
स्व.अम्बिकाबहादुरका परिवारको प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन आइतबार पुरुष/महिलामा समान ४–४ स्पर्धामा प्रतिस्पर्धा भएका थिए ।

पुरुष ६० केजीमा प्रहरीका उमेश मगरले फाइनलमा केन्द्रीय जुडो डोजोका किरण गडेललाई पराजित गरे । ७३ केजीमुनि प्रहरीका सञ्जित डंगोलले आर्मीका जंगबहादुर सारूलाई फाइनलमा हराए । ९० केजीमुनिमा श्रीरामले आर्मीका दिलबहादुर मगरलाई पराजित गरे । सय केजीमाथि कुनै पनि प्रतिद्वन्द्वी नपाएका प्रहरीका राजन जोशी स्वत: विजेता बने ।

महिलाको ४४ केजीमुनि बाँकेकी सोनिया भट्ट च्याम्पियन बनिन् । सोनियाले होप्याडकी पुष्पा भण्डारीमाथि जित निकालिन् । ५२ केजीमुनि प्रहरीकी दिलकुमारी छन्त्याल र ६३ केजीमुनि आर्मीकी फुपूल्हामु खत्री पहिलो भए । उपाधि भिडन्तमा दिलकुमारीले केन्द्रीय जुडोकी रोजिना थापामगर तथा फुपूले प्रहरीकी पूर्णा राईलाई पराजित गरे । ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन् । पुनमको स्पर्धामा पनि कसैले नाम दर्ता गराएन ।

राष्ट्रिय टिम छनोटको आधार मानिएको यस प्रतियोगितामा पुरुष/महिलामा समान ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनि बाहेक सबै स्पर्धामा पहिलो र दोस्रो हुने खेलाडी राष्ट्रिय टिममा छनोट भएका छन् । पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनि स्पर्धा राष्ट्रिय टिम तयारीमा राखिएको छैन । दुईदिने प्रतियोगितामा २३ टिमका १ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा आर्मीले सर्वाधिक ६ स्वर्ण, ४ रजत र ६ कांस्य जित्यो । दोस्रो स्थानमा रहेको प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कांस्य हात पार्‍यो । २ स्वर्ण र २ कांस्यसाथ पाम तेस्रो स्थानमा रह्यो । केन्द्रीय जुडो डोजो र बाँकेले १/१ स्वर्ण जिते । बाँकी टिम स्वर्णविहीन रहे ।

Advertisement

Advertisement

Advertisement