मनमोहनसहितका निजी मेडिकल कलेज किन्न सरकारले बनायो कार्यदल

Advertisement

काठमाडौंः प्राडा गोविन्द केसीको मागअनुसार मनमोहनसहितका आशयपत्र लिइसकेका निजी मेडिकल कलेज किन्नेबारे अध्ययन गर्न मन्त्रिपरिषदले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए । कार्यदलमा अर्थ, शिक्षा, स्वास्थ्य मन्त्रालय र सार्वजनिक खरिद कार्यालयका सचिव रहनेछन् ।

कार्यदलले आवश्यकताअनुसार विज्ञहरुसँग छलफल गर्न सक्नेछ । कार्यदलले मेडिकल कलेज खरिदबारे नीतिगत, कानुनी र प्रक्रियाबारे सरकारलाई सुझाव दिनेछ । मन्त्रिपरिषद् बैठक बसिरहेका बेला बाढी पहिरोलाई देखाउँदै डा. केसीले अनसन स्थगित गरेका थिए ।

साथै, बैठकले बाढीपहिरोपीडित अत्यन्त गरिब परिवारलाई प्रतिपरिवार रु १५ हजार तुरुन्त राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।

बाढी पहिरोबाट पीडितहरुको राहत, उद्धार र अस्थायी बासस्थानका लागि थप प्रभावकारी ढंगबाट काम गर्ने निर्णय गर्दै बैठकले सोका लागि विभिन्न स्थानमा सहायक क्याम्प बनाएर राहत तथा उद्धार पुगे÷नपुगेको अनुगमन गरी नपुगेको ठाउँमा तत्कालै पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement