कोरियन राजदूतपछि आइएफसीद्धारा माथिल्लो त्रिशुली १ को पीपीए चाँडै गर्न दबाब

Advertisement

काठमाडौंः विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)की नेपाल निर्देशक विन्डी वेनरले बुधबार उर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई भेटी माथिल्लो त्रिशुली १ को पीपीए चाँडै गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिन आग्रह गरेकी छन् ।

दक्षिण कोरियाका राजदूतले सोही आग्रह गरेको केही दिनपछि आइएफसीका निर्देशकले माथिल्लो त्रिशुली १ को पीपीए ढिलो गरिएकोमा प्रश्न उठाएकी हुन । माथिल्लो त्रिशुली १ निर्माणको जिम्मा लिएको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियाका कोसेप, देलिम र केर्योङको गरी ७८ प्रतिशत, आइएलसीको १२ प्रतिशत र नेपाली साझेदार विकेश प्रधानाङगको १० प्रतिशत लगानी रहेको छ ।

माथिल्लो त्रिशुलीले अस्वाभाविकरुपमा दोब्बर लागत अनुमान बढाएको, प्राधिकरणलाई भारी नोक्सान हुनेगरी अन्य प्रवद्र्धकहरुलाई चार महिना मात्रै सुख्खा समयको उच्च दरको विद्युतको मूल्य दिइएकोमा यससँग छ महिना महंगो दरमा बिजुली किन्न डलर सम्झौता गरिएको जस्ता विवादका कारण यस आयोजनाको पीपीए (विद्युत खरिद सम्झौता) हुन सकेको छैन ।

नेपालबाहेक भुटान र बंगलादेशसमेत हेर्ने वेनरले मन्त्रीसँगको भेटमा आफूहरु ऊर्जामा लगानी गर्न इच्छुक रहेको बताउँदै माथिल्लो त्रिशुली १ को पीपीए गर्न पहल गरिदिन आग्रह गरेकी थिइन । आफूहरु उर्जामा थप लगानी गर्न इच्छुक रहेको उनको भनाई थियो । मन्त्री शाहीले उर्जामा लगानी बढाउन आग्रह गर्दै यस क्षेत्रमा लगानीको बाताबरण रहेको बताएका थिए ।

माथिल्लो त्रिशुली १ को पीपीएको कुरा भइरहेको बेला यसअघिका उर्जामन्त्री जनार्दन शर्माले यस आयोजनाको कोरियन लगानीकर्ताको संयोजनमा कोरिया भ्रमण गरेका थिए । भ्रमणमा उनले कोरियन कम्पनीका अधिकारहरुलाई भेट्नुका साथै उक्त कम्पनीले निर्माण गरेको सोलार फार्मको अवलोकन पनि गरेका थिए ।

Advertisement

Advertisement

Advertisement