अब देशैभरिबाट अनलाइनमार्फत बिजुलीको महशुल बुझाउन सकिने

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले अनलाइनमार्फत विद्युत महशुल भुक्तानी सेवालाई विस्तार गरी नेपालभर पुर्याउने भएको छ । यसअघि राजधानीका केही महशुल केन्द्रअन्तर्गतका ग्राहकले मात्रै इसेवामार्फत यो सुविधा उपभोग गर्ने गरेकोमा अबको दुई हप्ता काठमाडौंका सबै ग्राहकले र त्यसपछि नेपालभरका ग्राहकले अनलाइनमार्फत महशुल तिर्नसक्नेछन् ।

अनलाइन सेवाका लागि प्राधिकरणले इसेवा, प्रभु बैंक, पेप्वाइन्ट जस्ता नौ वटा निजी क्षेत्रका सेवा प्रदायकहरुलाई छनोट गरेको छ । लाइन बसेर विद्युत महशुल बुझाउन बाध्य हुँदै आएका ग्राहकहरुलाई यो सेवा विस्तारले समय र पैसाको बचतमा ठूलो योगदान दिनेछ । साथै, प्राधिकरणले दुर्गम क्षेत्रका ग्राहकलाई समेत लक्षित गरी रिचार्ज कार्डका लागि पनि गृहकार्य भइरहेको जानकारी दिएको छ ।

मिटर रिडरले उपलब्ध गराएको बिलमा उल्लेखित विवरण भरेर ग्राहकले आफैले घरैबाटै वा नजिकको बैंक वा विप्रेषण सेवा प्रदायकमार्फत विजुलीको महशुल तिर्नसक्नेछन् । त्यसका लागि ग्राहकले छुट्टै शुल्क बुझाउनु पर्दैन । प्राधिकरणका ३३ लाख भन्दा बढि ग्राहकले अनलाइन सेवाबाट लाभ लिनसक्नेछन् ।

उर्जा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइन सेवाका बारेमा जानलाई सुसुचित गर्नु जरुरी रहेको बताए । उनले घर घरमा गएर मिटर रिडिङ गर्ने हालको समस्या अन्त्य गरी डिजिटल प्रविधिबाटै मिटर रिडिङ गर्ने रिमोट बिलिङ, महशुल नतिर्नेको लाइनसमेत सोझै काट्नमिल्ने गरी स्मार्ट मिटरहरु जडानका लागि समेत प्रक्रिया अघि बढेको बताए ।

त्यस्तो मिटरहरु जडानका लागि हाल ग्राहकको घरहरुमा जडान भएका सबै मिटरहरु प्रतिस्थापन गर्नुपर्ने उनको भनाई छ । उर्जामन्त्री महेन्द्र शाहीले अनलाइन भुक्तानी सेवा नेपालकै लागि नयाँ नभए पनि विद्युतका ग्राहकको लागि नयाँ भएको बताउँदै यसले प्राधिकरणको सेवालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए ।

उनले अहिले चार चुँडियो वा ट्रान्सफर्मर पडकियो भने कर्मचारीहरु त्यही पुगेर हेर्नुपर्ने अवस्था अन्त्य गर्न स्मार्ट ग्रीड सिस्टमका लागि पनि पहल भइरहेको भन्दै त्यसले सजिलै कहाँ के समस्या भएको हो ? सो कुरा पत्ता लागि समाधान गर्न, विद्युत चोरी नियन्त्रण गरी चुहावट कम गर्न सहज हुने बताए । शाहीले प्राधिकरणको मुख्य समस्या घाटा अन्त्य गरी नाफामा लानु हो भन्दै डिजिटल सेवामार्फत चुहावटलाई नियन्त्रण गरिने बताए ।

Advertisement

Advertisement

Advertisement