सुपथ मूल्य पसलमा विशेष छुट दिइने, आपूर्ति मन्त्रीले तोकिदिए व्यापारीले खाने नाफाको सीमा

Advertisement

काठमाडौंः सरकारले चाडपर्वको अवसरमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा घीउ र पनिरमा पनि छुट दिने तयारी गरेको छ । आइतबार आपूर्ति मन्त्री शिवकुमार मण्डलसमेत सहभागी सरोकारवालाहरुको बैठकमा यस्तो निर्णय गरेको हो ।

दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपियाँ छुट दिने निर्णय गरिएको हो । यस्तो छुट चाडपर्वमा सञ्चालन हुने सुपथ मूल्य पसलहरुमा मात्रै दिइने छ । साथै, बैठकले नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङले सञ्चालन गर्ने सुपथ मूल्य पसलहरुमा आलु र प्याज लगायतका तरकारी पनि सहुलियतमा उपलब्ध गराउने निर्णय गरेको छ ।

बजारमा खुद्रा मूल्यभन्दा सस्तोमा आलु र प्याज उपलब्ध गराउने नेपाल फलफूल तथा तरकारी बजार महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । उनले भने, ‘होलसेल मूल्यमा ढुवानी भाडा जोडेर थोरै मात्र नाफामा बिक्री गर्ने व्यवस्था गरिने छ । लसुन, अदुवा, खुर्सानी लगायतका तरकारी पनि उक्त बजारमा राख्ने प्रयास गर्ने छौँ ।’

मछामासु व्यवसायीले पनि चाडवाडमा माछामासु पसल सफा सुग्घर राख्ने र सहज तरिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । छलफल गरेर सकेसम्म चाडवाड विशेष छुट दिने व्यवसायीले प्रतिवद्धता जनाए ।

मन्त्री मण्डलले दैनिक उपभोग्य वस्तुको शुद्धतालाई ध्यान दिन सरकारी पक्ष र निजी क्षेत्रका व्यवसायीलाई आग्रह गरे । उनले भने, ‘अहिले अत्यधिक नाफा खाएर उपभोक्तालाई समस्यामा पार्ने काम भएको छ । तर अब थोक व्यापारीले ७ देखि १० प्रतिशतसम्म नाफा खाने र खुद्रा व्यापारीले २० प्रतिशत नाफा खाएर बिक्री गर्दा उपभोक्ताहरु लाभान्वित हुने अवस्था आउँछ ।’

मन्त्री मण्डलले उपभोक्ताले अस्वस्थ खानेकुरा खाने अभ्यास बढेकोले त्यस्तो बानी परिवर्तन गर्नुपर्ने बताए । उनले भने ‘बधशाला व्यवस्थित गर्न र माछामासु र दुधमा हुने शुद्धतालाई विशेषगरी ध्यान दिनुपर्नेछ । हाम्रो संस्कृतिले केही अस्वस्थ खाना खाने अभ्यास छ, त्यस्तो अभ्यास परिवर्तन गर्न जरुरी छ ।’

Advertisement

Advertisement

Advertisement