सिमेन्ट उत्पादनमा अहिलेसम्म कै ठूलो लगानी भित्राउन सम्झौता, झण्डै ३७ अर्ब लगानी हुने

Advertisement

काठमाडौंः लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच नेपालमा ठूलो सिमेन्ट कारखाना स्थापनाको लागि आइतवार परियोजना लगानी सम्झौता (पीआइए)मा हस्ताक्षर भयो ।

अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्र कार्की तथा नेपालका लागि चिनीया राजदुत यू होङको उपस्थिति सम्पन्न उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका निर्देशक एवं महाप्रवन्धक लाई वेईपेङले हस्ताक्षर गरे ।

परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको एक करार हो । सम्झौतामा दुबै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको छ । यस करारअन्तर्गत नेपाल सरकारले लगानीको सुरक्षा प्रत्याभुती दिंदै कम्पनीको मनोवललाई बढाएको लगानी बोर्डको भनाई छ ।

यसले परियोजना कार्यान्वयनको लागि निश्चित समय तालिका निर्धारण गरी परियोजनाको सफलताको प्रत्याभूति गर्नेछ । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ ।

कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको यस परियोजनामा नेपालका विभिन्न व्यवसायीक समुह रहेको शिवम् होल्डिङ्को पनि लगानी रहेको छ ।

उक्तकम्पनीले दैनिक छ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । कम्पनीले सन् २०१८ भित्र उत्पादन शुरु गर्नेछ र पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पुर्याउने लक्ष्य राखेको छ । परियोजनाले नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सिर्जना गर्न सहयोग पुर्याउने छ ।
कार्यक्रममा अर्थमन्त्री कार्कीले यो लगानी सम्झौताबाट नेपालको व्यवसायीक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताए । उनले भने, “परियोजना कार्यान्वयनको लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छु ।”

बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस सम्झौताले विदेशी लगानीकर्ताहरुका लागि नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गएको प्रमाणित भएको बताए । उनले भने, “आजको सम्झौतासँगै हामीले नेपालमा विश्वस्त भएर लगानी गर्न र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीहरुको लागि नेपालमा लगानीका अवसरको अनन्त ढोका खोलेका छौं ।”

होङसी शिवम्का निर्देशक तथा महाप्रवन्धक वेइपेङ्ले नेपालमा लगानीको वातावरण सम्बन्धी हाम्रै अनुभवले पनि नेपालमा विदेशी लगानी भित्र्याउन लगानीकर्ताहरुमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताए ।

Advertisement

Advertisement