माओवादीका मन्त्री फ्याक्न उपेन्द्र बाधक, महन्थसँग एकताका लागि पनि उपेन्द्र बाधक

Advertisement

काठमाडौंः सत्ता साझेदार माओवादी केन्द्रले चुनावको मुखमा आएर हात छोडेपछि नयाँ रणनीतिका साथ अघि बढ्ने प्रयास गरेका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासामु उपेन्द्र यादव ठूलो बाधक बनेर प्रस्तुत भएका छन् ।

एमालेसँग पार्टी एकता र चुनावी तालमेल गर्ने निर्णय गरेको माओवादी केन्द्रका मन्त्रीहरुलाई फ्याकेर मन्त्रिमण्डल पुर्नगठन गर्ने देउवाको तयारी उपेन्द्रको चेतावनीपछि रोकिएको स्वयम देउवाले खुलासा गरेका छन् ।

काँग्रेसको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीहरु र मधेसी दलहरुसहितको लोकतान्त्रिक गठवन्धन निर्माण गर्ने कुरामा पनि राष्ट्रिय जनता पार्टीलाई रोक्ने काम उपेन्द्रले नगरेका तथ्य बाहिर आएको छ । लोकतान्त्रिक गठवन्धनको निर्माण गर्ने भनिएपछि उपेन्द्रले हतार हतार राजपासँग चुनावी तालमेलको लागि सम्झौता गरिदिएका थिए ।

यता सोमबार नै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग काँग्रेसको पार्टी एकता हुने भनिएको एकाएक कार्यक्रम रद्द भएको छ । महन्थ ठाकुर, विजय गच्छदारलगायतका नेता काँग्रेस छोडेर मघेसी दलमा लागेका हुन ।

पार्टी एकताका सिलसिलामा गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफ्नो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेका हुन् । आफूहरूले काँग्रेससँग सहकार्य गरे पनि त्यो चुनावको लागि हो कसैलाई सत्ताबाट हटाउन वा ल्याउन होइन भन्दै उपेन्द्रले एमालेका मन्त्रीलाई हटाउने र राप्रपाकालाई बनाउने हो भने आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता हुने उपेन्द्रले बताएको देउवाले जानकारी गराएका हुन ।

देउवाले राप्रपा अध्यक्ष कमल थापालाई गृह मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने प्रतिवद्धता जनाइसकेका छन् । माओवादीको समर्थन हटिसकेपछि मधेसी दल र दुई राप्रपाको समर्थन नहुने हो भने सरकार अल्पमतमा पर्ने संभावना छ । संसद विघटन गर्न संविधानले पनि नमिल्ने निर्वाचन सार्न राष्ट्रपतिदेखि निर्वाचन आयोग विपक्षीहरु नमानेपछि देउवा यतिबेला ठूलो धर्मसंकटमा छन् ।

कात्तिक ५ गते मंसिर १० मा पहिलो चरणमा हुने निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले उक्त मितिबाट वर्तमान संसद् स्वतः विघटन हुन्छ । संसद् विघटनपछि सरकारबाट माओवादी हटेको भन्दै सरकारविरुद्ध अविश्वास नआउने र अन्य केही अप्ठ्यारालाई समेत के कसरी निकास दिन सकिन्छ भन्नेमा देउवा गम्भीर रहेको काँग्रेस नेता कार्यकर्ताहरुको भनाई छ ।

Advertisement

Advertisement