एमबीबीएस परीक्षा बदर गर्न त्रिवि कार्यकारी परिषदको सुझाव

Advertisement

काठमाडौंः त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बिहीबार बसेको बैठकले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को गत महिना सञ्चालित एमबीबीएस परीक्षा बदर गर्न सुझाव दिएको छ ।

परीक्षा बदर गर्न सुझाव दिए पनि यसको बारेमा अन्तिम निर्णय भने आइओएमको परीक्षा समितिले लिने जनाइएको छ । त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले छलफलले परीक्षामा मर्यादाविपरीतका कार्यहरु भएको अनुसन्धानले पुष्टी गरेको भन्दै यस परीक्षालाई मर्यादित भन्न नसकिने धारणा सहितको निर्देशन आइओएमलाई पठाएको जानकारी दिएको बताएका छन् ।

आइओएम परीक्षा समितिका संयोजक एवं सहायक डीन प्राडा राजेन्द्र गुरागाईले भने त्रिवि कार्यकारी परिषदको निर्देशन कुरेर आफूहरु बसेको भन्दै आफूहरुले निर्णय लिन त्रिविबाट निर्देशन आउनुपर्ने बताएका छन् ।

गत २८ असोजमा भएको प्रवेश परीक्षामा चिट चोर्ने डिभाईससहित केही परीक्षार्थी भेटिएपछि पुनः परीक्षा हुनुपर्ने आवाज उठेको छ । त्यसयता त्रिवि, मेडिकल काउन्सिल र प्रहरीको अपराध अनुसन्धान महाशाखाले छुट्टा छुट्टै छानविन गरी प्रतिवेदन बुझाएका थिए । तिनै प्रतिवेदनका आधारमा त्रिविले आइओएमलाई निर्देशन दिएको हो ।

यसो त परीक्षार्थी, महाराजगञ्ज क्याम्पसको स्ववियू, तीन ठूला राजनीतिक दलका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीले समेत परीक्षा पुन हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम अघि बढाउदै छन् ।

Advertisement

Advertisement

Advertisement