'विप्लवका पाँचसय कार्यकर्ता थुनिसक्यौं, सबै नेता निगरानीमा छन्, अब ढुक्क भएर मत हाल्दा हुन्छ'

Advertisement

काठमाडौंः रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावको मुखमा देशभरिका छिटपुट घट्नाहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्टको संलग्नता रहेको भन्दै उक्त समूहका नेताहरुलाई अहिले सरकारले विशेष निगरानीमा राखेको जानकारी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा प्रधानले निर्वाचन विरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको भन्दै भने, ‘निर्वाचन जुनसुकै हालतमा निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्, निर्वाचन विथोल्न खोज्ने विप्लव समूहका नेताहरुलाई सुरक्षा संयन्त्रले अहिले व्यापक खोजि गरिरहेको छ, उनीहरु अहिले अर्धभूमिगत अवस्थामा छन्, तर खोजिकार्य जारी छ ।’

मन्त्री प्रधानले सरकार अहिले विप्लव समूहसँग वार्ता गर्ने अवस्थामा नरहेको भन्दै थपे, ‘चुनावको मुखमा हामी उहाँहरुसँग वार्ता गर्दैनौं, गरे पनि हामी चुनावपछि गर्छौं, यदि विप्लव समूह वार्तामा आयो भने कुरा सुन्न तयार छौं ।’

संविधान ल्याउनको लागि विप्लव समूहको पनि भूमिका भएकोले आफूहरु वार्ताको लागि तयार हुने उनको भनाई थियो । प्रधानले आइतबारदेखि हुने निर्वाचनको लागि सरकारले भरपर्दो सुरक्षा व्यवस्था गरेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न मन्त्री प्रधानले आममतदाताहरुलाई आह्वान गरे ।

उनले थपे, ‘ढुक्क भएर मतदानमा सरिक हुनुहोस्, सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गरेको छ, आफ्नो अमुल्य मत दिनुहोस्, मत हाल्दा विवेक प्रयोग गर्नुहोस् ।’ प्रधानले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सरकार अहिले २४ घण्टा खटिरहेको पनि बताए ।

मन्त्री प्रधानले अब कसैले चाहेर पनि निर्वाचन विथोल्न नसक्ने दाबी गर्दै भने, ‘निर्वाचन विथोल्न चाहने तत्वहरु करिब दुई हजार जनाको हामीले लिष्ट बनाएका छौं, अहिलेसम्म करिब पाँच सय जनालाई गिरफ्तार गरिसकिएको छ, तीमध्ये धेरै तत्वहरुको त अहिले भागा भाग भैरहेको छ ।’

उनले भोलि हुने ३२ जिल्लाको निर्वाचनमा २८ हजार ८४६ नेपाली सेना खटिने जानकारी दिए । प्रधानले भने, ‘दुवै निर्वाचनको लागि ६४ हजार प्लस सेना खटिँदैछन्, त्यस्तै नेपाल प्रहरीको कुल क्षमतामध्ये ९० प्रतिशत यो निर्वाचनमा खटिँदैछन्, त्यस्तै हवाई अनुगमन भैरहेको छ, त्यसैले सुरक्षाको सम्पूर्ण व्यवस्था हामीले गरेका छौं ।’

Advertisement

Advertisement

Advertisement