धनगढीः नेपालका अन्तर्राष्ट्रियस्तर धनाड्य उद्योगपति विनोद चौधरीले प्रदेश नम्बर सातमा चाँडै दुईवटा ठूला उद्योग खोल्ने घोषणा गरेका छन्। नेपाल प्रेस युनियनले धनगढीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले उक्त घोषणा गरेका हुन ।
उनी प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसबाट समानुपातिक सुचीमा समेत रहेका छन् । चौधरीले दुईवटा मेगा उद्योग स्थापनापछि प्रदेश सातको आर्थिक गतिविधिमा उल्लेख्य वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने पनि बताए । सातै प्रदेशका विशेष आर्थिक क्षेत्रमा उद्योगहरु खोल्ने योजना बनाएका उनले प्रदेश नं. २ मा दुई ठूला उद्योग खोल्ने बताएका हुन ।
आर्थिक विकासका दृष्टिले संभावना हुँदाहुँदै पनि पछि परेको यस क्षेत्रको विकासमा सरकारले पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । चौधरीले लोकतन्त्र व्यवस्थामा मात्रै देशको आर्थिक समृद्धि संभव छ भने । लोकतन्त्रसँग अर्थतन्त्रको ठूलो सम्बन्ध छ भन्दै उनले अबको निर्वाचनमा लोकतान्त्रिक शक्तिले नै विजय हासिल गर्नुपर्ने बताए ।
उद्योगपति चौधरीले आर्थिक विकासका लागि मुलुकमा राजनीतिक स्थिरता जरुरी रहेको भन्दै स्थिर सरकारले मात्रै आर्थिक एजेन्डाको स्वामित्व बोक्ने र विकासको रोडम्यापलाई अन्तिम गन्तव्यमा पुर्याउन सक्ने बताए । उनले विगतका २५ बर्षमा कांग्रेस नेतृत्वको सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गरेको नेपालको गरिवी अन्त्य गरी देशलाई संवृद्ध बनाउन आर्थिक मुद्दाहरुमा केन्द्रीत हुनुपर्ने बताए ।
प्रदेश नं. ७ जलस्रोतका हिसाबले निकै धनी रहेको र यहाँको अपर कर्णाली, पञ्चेश्वर, पश्चिम सेती, बुढीगंगा जस्ता आयोजनाहरु
निर्माण गर्न सकिए, यहाँको जडीबुटी, पर्यटनको संभावनालाई प्रयोग गर्न सकिए मुलुकले नै मुहार फेर्ने बताए ।