सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित

Advertisement

पाल्पाः यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा परेका हुन् ।

सुन्तला खेती गरी जीविकोपार्जन गर्ने परिवारका लागि कम उत्पादनले समस्या भएको छ । रिब्दीकोट गाउँपालिकाकोे पालुङमैनादीका किसान चित्रबहादुर कुँवरले गत वर्ष करिब दुई लाख रुपियाँको सुन्तला बिक्री गरेकामा अहिले एक लाख बराबरको बिक्री गरे ।

सुन्तला उत्पादनका पकेट क्षेत्र मानिएको पालुङमैनादी, मुझुङ, छहरा, सोमादी, कुसुमखोलालगायतका क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा निकै कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले प्राविधिक जाँच तथा परीक्षणमा सहयोग नगरेका कारण किसान मारमा परेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले किसानले बोटमा आवश्यक स्याहार, सुसार र मलजलमा कमी गर्दा उत्पादन घटेको बताए । उनले सुन्तला टिपेपछि टिपेको घाउबाट ब्याक्टेरिया, कीटाणुले आक्रमण गर्ने भएकाले कम्तीमा तीन पटक नीलोथुथो, चुना छर्कनुपर्ने बताए ।

Advertisement

Advertisement