उपत्यका आज अन्धकार हुनबाट जोगियो; भक्तपुर–बानेश्वर ६६ केभी प्रसारण लाइनमा बम हानियो- प्राधिकरण

Advertisement

काठमाडौँ: काठमाडौँ उपत्यका आज अन्धकार हुनबाट जोगिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अघिल्लो दिन बुधबार राति उपत्यकालाई अन्धकार बनाउने उद्देश्यका साथ भक्तपुरमा शक्तिशाली विस्फोट गराइएको नेपाल विद्युत् प्राधिकरणले आशंका गरेको छ । निर्वाचन प्रभावित बनाउन खोज्ने तत्वले गलत नियतका साथ भक्तपुरबाट काठमाडौँ आइरहेको प्रसारण प्रणालीमा क्षति पु¥याएको प्राधिकरणले जनाएको छ ।
बुधबार राति ९ः०० बजे उपत्यकाको विद्युत् आपूर्तिको मुख्य लाइन भक्तपुर–बानेश्वर ६६ केभी प्रसारण लाइनको दुवाकोट नजिकको खेतमा गराइएको बम विस्फोटका कारण तार चुँडिएको प्राधिकरणले जनाएको छ ।

बम विस्फोटका कारण प्रसारण प्रणालीमा समस्या आएकाले बानेश्वर र पाटन क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति हुन सकेको थिएन । विद्युत् आपूर्ति नभएका कारण ती क्षेत्रमा बुधबार साँझ केही समय अन्धकार हुन पुगेको थियो । बम विस्फोटनको आवाज आउनसाथ नेपाली सेनाको टोली उक्त स्थानमा पुगेको थियो ।
प्राविधिक कारणले तार चुँडिएको जस्तो लागेको भए पनि उपत्यकाको विद्युत् आपूर्तिको मुुख्य प्रसारण प्रणालीमा नै बम पड्काएर अन्धकार बनाउने नियत राखिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्राधिकरणले जनाएको छ । उपत्यकालाई अन्धकार बनाउने र चुनाव बिथोल्ने नियतका साथ बम विस्फोट गराएको हुन सक्ने देखिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले निर्वाचनको संवेदनशीलता ध्यान दिएर आपत्कालीन व्यवस्थाअन्तर्गत विद्युत् आपूर्ति गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्ता आपराधिक घटनाले प्रसारण तथा वितरण प्रणालीमा ठूलो चुनौती थपिएको जानकारी दिए ।

उता चिलिमे जलविद्युत् गृहबाट काठमाडौँ ल्याइएको विद्युत् प्रणालीमा समेत आज साँझ पुनःसमस्या आएको छ । सो प्रणालीमा समेत त्यस्तै विस्फोट गराइएको हुन सक्ने प्राधिकरणले आशंका गरेको छ । आज अपराह्न समस्या समाधान गरेर विद्युत् प्रसारण गरिएको जनाइएको भए पनि साँझ पुनःसमस्या देखिएको छ ।

Advertisement

Advertisement

Advertisement