ओलीलाई प्रधानमन्त्री हुन नदिन देशी विदेशीहरु षडयन्त्र गर्दैछन, तर रोक्न सक्दैनन्: महासेठ

Advertisement

काठमाडौंः एमाले नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा महासेठले भने, ‘हाम्रो पार्टीका श्रद्धय अध्यक्ष कमरेड ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भैरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो ।’

उनले जनताको पहिलो रोजाईमा ओली नै परेको जिकिर गरे । महासेठले भने, ‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरु सुरु भएका छन् ।’ निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिर राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरुले सोचेको भएपनि मतपरिणाम सार्वजनिक भएसँगै चलखेल सुरु भएको उनको आरोप थियो ।

महासेठले अहिले देशी तथा विदेशी शक्तिहरुले ओलीको नेतृत्वमा सरकार बन्नुहुँदैन भनेर षड्यन्त्र सुरु गरेको गम्भीर आरोप लगाए । षड्यन्त्रको प्रमुख गोटी भने निर्वाचन आयोग बनेको उनको आरोप थियो ।

महासेठले भने, ‘अहिले प्रत्यक्ष रुपमा निर्वाचन आयोगको भूमिका देखियो, आयोग गोटी बनेको छ, यो कुरा छर्लङ् भैसक्यो, प्रधानमन्त्रीको चयन र समानुपातिकको नतिजा प्रकाशनको लागि राष्ट्रिय सभाको गठन आवश्यक छैन, तर आयोगले संविधानको नै अपव्याख्या गरिरहेको छ ।’

उनले संविधानको धारा ७६ मा सबै कुरा स्पष्टसँग लेखिएको भन्दै उक्त धारालाई गलत रुपमा व्याख्या नगर्न आयोगको ध्यानाकर्षण समेत गराए । महासेठले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनेर तयारी गरिएकोप्रति टिप्पणी गर्दै भने, ‘२५ गते चुनाव गर्ने अनि सबै प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनिएको छ, यो पनि समय लम्ब्याउने खेल हो ।’

उनले आयोगले देखादेख संविधानको धज्जी उडाएको समेत आरोप लगाए । महासेठले भने, ‘देउवाले दुई चार महिना अझै सत्ता लम्ब्याउने खेल खेले, वाम गठबन्धन टुटाउन सकिन्छ कि भनेर खेल सुरु भएको छ, तर यो खेल सफल हुन दिँदैनौं ।’

महासेठले आयोग प्रधानमन्त्री देउवाको मात्रै गोटी नबनेर कतै नेपालको प्रगति हेर्न नचाहाने विदेशी शक्तिहरुको गोटी त बनेको छैन भनेर अहिले प्रश्न उब्जिएको समेत स्पष्ट पारे । उनले निर्वाचन आयोग र प्रधानमन्त्री मात्रै नभएर मधेशवादी दलका नेताहरु पनि गोटी बनेको गम्भिर आरोप लगाए ।
महासेठले थपे, ‘उहाँहरुको बोली एकथरी हुन्छ अनि व्यवहार अर्कोथरी देखिएको छ, उहाँहरुको हेडक्वार्टर कहाँ छ ? यो आश्चर्य लागेको छ ।’ त्यस्तै उनले २ नम्बर प्रदेशमा मधेसवादी दलहरुले आपसी समझदारीमा मिलेर सरकार बनाएर राम्रो हुनेथियो भन्ने धारणा राखे ।

यद्यपी आफूहरुले त्यस्तो संभावना नदेखेको महासेठको भनाई छ । उनले भने, ‘यदि आवश्यक पर्यो भने हामी बाहिरै बसेर भएपनि सरकार बनाउन सहयोग गर्छौं ।’ महासेठले मधेसको समग्र समस्याको समाधान एमालेबाहेक अरु कसैले पनि गर्न नसक्ने धारणा राखे । एमालेको नेतृत्वमा सरकार बनेको ६ महिनादेखि एक वर्षभित्रै सम्पूर्ण समस्या समाधान गर्ने उनको विश्वास थियो ।

एमाले सचिव योगेश भट्टराईले त अब ओली र प्रचण्ड दुवै नेताले विश्राम लिएर युवा नेताहरुलाई नेतृत्व सुम्पिनुपर्छ भन्नुभएको छ नि भनेर सोधिएको एक प्रश्नमा उनले भने, ‘उहाँ हाम्रो पार्टीको सचिव हुनुहुन्छ, मलाई लाग्दैन कि उहाँले यस्तो सस्तो कुरा गर्नुभयो भनेर, तर यदि साँच्चिकै भन्नुभएको हो भने त्यो गलत हो, यो मुलुक र जनतालाई ओली र प्रचण्डको आवश्यकत्ता अझै दश वर्ष छ, उहाँहरुले पनि अहिले नै सन्यास लिन चाहनुभएको छैन् ।’

एमाले–माओवादी केन्द्रबीचको एकता अब कसैले चाहेर पनि नरोकिने महासेठको जिकिर थियो । उनले थपे, ‘एकता हुन्छ, तर जनताको बहुदलीय जनवादको आधारमा नै हुन्छ, हामी जवज छोडेर एकता गर्ने पक्षमा छैनौं, माओवादी केन्द्रका नेताहरुले पनि जवजको लाइन आत्मसात् गरिसक्नुभएको छ ।’

Advertisement

Advertisement

Advertisement