नेपालमा पहिलो पटक जलविद्युतसम्वन्धी मेला आजबाट सुरु, लगानी र नयाँ प्रविधि प्रवद्र्धन लक्ष्य

Advertisement

काठमाडौंः नेपालमा पहिलो पटक जलविद्युतसम्वन्धी मेला ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । तीन दिनसम्म चल्ने मेलाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको हो ।

आधाभन्दा बढि विदेशी कम्पनीहरुको सहभागिता रहेको एक्स्पोको आयोजना स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)को नेतृत्वमा भएको हो । विदेशी कम्पनीहरुमा विशेषगरी जलविद्युत आयोजनामा प्रयोग हुने उपकरणहरु उत्पादन गर्ने कम्पनीहरु बढि छन् भने स्वदेशी कम्पनीहरु हाइड्रोमेकानिकलका उपकरणहरु उत्पादन गर्ने कमपनी, बैंक तथा बिमा कम्पनी, निर्माण उमकरणहरु बढी रहेका छन् ।

जलविद्युतसम्वन्धी विश्वमा आएका नयाँ प्रविधि र अनुभवहरु आदान प्रदान गर्ने र नीति निर्मातादेखि निर्माण व्यवसायी, लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई एकै ठाउँमा भेला गराएर जलविद्युत्त विकासमा अभिप्रेरित गर्ने एक्स्पोको उद्देश्य रहेको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधानअनुसार चुनावहरु सम्पन्न भएकाले अब स्थायी सरकार गठन भई मुलुकमा आर्थिक विकासले गति लिने आशा व्यक्त गर्दै यससँगै जलविद्युत विकासमा पनि स्वदेशी तथा विदेशी लगानी आकर्षित भई यस क्षेत्रको विकासले गति लिने आशा व्यक्त गरिन ।

उनले परम्परागत उर्जाका स्रोतहरु बाताबरणका लागि पनि हानिकारक र महंगो भएकाले जलविद्युतको विकास नै उत्तम हुने भन्दै विद्युत आयात अन्त्यका लागि पनि अब ठोस र दिगो योजना बनाउन यस एक्स्पोले सहयोग पुग्ने बताइन ।

इप्पानका अध्यक्ष देशको संवृद्धि उर्जाको खपतबाट मात्रै संभव छ भन्दै आधुनिक प्रविधिको प्रयोगको अभावले जलविद्युतसहित विकास निर्माण कामहरु ढिलो भइरहेको बेलामा यस एक्स्पोले नयाँ प्रविधि र नयाँ अनुभवलाई आदान प्रदान गर्न सहयोग गर्ने बताए ।

उनले १०७ बर्षको इतिहासमा एक हजार मेगावाट विद्युत नेपालमा उत्पादन हुन नसके पनि हाल तीन हजार पाँचसय मेगावाट निर्माणको क्रममा रहेको र पाँच हजार मेगावाट पीपीएको क्रममा रहेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले जलविद्युत विकासमा नेपालको अपार संभावना भए पनि लगानीमैत्री बाताबरणको अभाव, नीतिगत समस्याका कारण काम हुन नसकेको भन्दै मुलुकको आर्थिक संवृद्धि र औद्योगिकीकरणका लागि पनि जलविद्युत विकास जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement