नेप्से १७ अंकले घट्यो, फेरि १४ सय अंकबाट ओर्लिने संकेत

Advertisement

काठमाडौंः सेयर बजार परिसुचक नेप्से आज मंगलबार १७ दशमलव ३९ अंकले घटेर एक हजार ४१३ दशमलव ७१ अंक कायम भएको छ । गएको आइतबार पनि झण्डै दोहोरो अंकले घटेको नेप्सेको घटने दर आज झन बढेको हो ।

बजारमा आज पनि कारोबार बढन सकेन । आज ३६ करोड २२ लाख रुपियाँको मात्रै सेयर किनबेच भएको छ, जुन निकै न्यून हो । सेयर बजारमा मूल्य अभिवृद्धि कर लागू गर्ने संकेत, वामपन्थी दलहरुको नेतृत्वमा बन्ने सरकार र उसले लिने अर्थनीतिप्रतिको आशंका, अधिकांश कम्पनीहरुको हकप्रद सेयर जारी भइसक्नु जस्ता कारणले सेयर बजारमा लगानी आकर्षित हुन नसकेको विश्लेषकहरुको भनाई छ ।

सेयर बजार लगातार गिरावट र अनिश्चितताले लगानीकर्ता पर्ख र हेरको स्थितिमा बस्न बाध्य भएका छन् । आजको कारोबारमा कुनै पनि समूहको कारोबार राम्रो हुन सकेन । सबैभन्दा जलविद्युत समूहको उपसुचक पाँच प्रतिशतभन्दा बढिले घटेको छ भने होटल, वित्त र बिमाबाहेक बाँकी सबै कम्पनीको उपसुचक एक प्रतिशतभन्दा बढिले गिरावट भएको छ ।

कारोबार न्यून हुँदा पनि सानिमा माई हाइड्रोपावरको कारोबार पाँच करोड ४५ लाख भन्दा बढिको सेयर किनबेच भएको छ । आज कुल १५४ कम्पनीको सेयर किनबेच भएकोमा २१ कम्पनीका लगानीकर्ताले मात्रै कमाई गरेका छन् भने बाँकीले घाटा सहनुपरेको छ । केही दिनअघि एक हजार चारसयबाट ओर्लिएको नेप्सेमा नियामक निकाय राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि लिएको निर्णयपछि केही सुधार आएर लय लिए पनि फेरि एक हजार चारसयबाट ओर्लिने संकेत देखिएको छ ।

Advertisement

Advertisement

Advertisement