ओलीले राष्ट्रपति बनाइदिने आशामा रहेका झलनाथ भन्छन्– प्रधानमन्त्रीमा ९९ प्रतिशत ओली हो

Advertisement

काठमाडौंः अबको राष्ट्रपति हुने दाउमा रहेका एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबको प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओली नै हुने करिव निश्चित रहेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले अब बन्ने सरकारको नेतृत्व अध्यक्ष ओलीले नै गर्नेमा ९९ प्रतिशत संभावना रहेको बताए । एमाले र माओवादी केन्द्रबीच एकताको लागि एक हप्ताभित्रै नीति र नेतृत्वका विषयमा सहमति हुने भन्दै खनालले भने, ‘अब बस्ने एकता संयोजन समितिको बैठकले एकताबारे ठोस निर्णय लिन्छ, नेतृत्व र नीतिबारे एक हप्ताभित्रै सहमतिमा पुग्र्छौं, आवश्यक परे दुई वटा कार्यदल बनाउँछौं, एउटा वैचारिक र अर्को संगठनात्मक, यसले सबै कुरा टुँगो लगाउँछ ।’

उनले पार्टी एकता सरकार गठनभन्दा अघि नै हुनसक्ने समेत संकेत गरे । खनालले भने, ‘पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने कुरा हुँदैन्, दुवैले आ–आफ्नो ढंगले काम गर्छन्, तर पार्टी एकता सरकार गठनभन्दा पहिले पनि हुनसक्छ ।’

नेता खनालले भने, ‘अहिलेलाई केपी ओलीजी प्रधानमन्त्री बन्ने संभावना ९९ प्रतिशत छ, को अध्यक्ष बन्छ ? भन्ने विष्यमा सल्लाह गर्न बाँकी छ ।’ पार्टीले जिम्मेवारी दिए आफू जुनसुकै भूमिका निर्वाह गर्नबाट पछि नहट्ने उनले बताए ।

खनालले भने, ‘मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, म त्यो भूमिका दृढतापूर्वक पालना गर्न तयार छु ।’ एकतापछि पनि आफू अहिले जुन धरातलमा रहेको हो त्यही धरातलमा हुने उनले विश्वास दिलाए ।

राष्ट्रपतिमा तपाईंको नाम चर्चामा छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा खनालले भने, ‘को राष्ट्रपति बन्छ भन्ने कुरा सबै कुरा ध्यानमा राखेर निर्णय हुन्छ, राष्ट्रमा पुर्याएको योगदानको आधारमा उचित निर्णय हुन्छ, यसबारेमा उपर्युक्त समयमा उपर्युक्त निर्णय गरिनेछ ।’
उनले प्रदेश प्रमुख नियुक्तीलाई आफूहरुले आश्चर्य र अनौठो ढंगले नलिएको स्पष्ट पारे । खनालले भने, ‘सरकारले हालै गरेको प्रदेश प्रमुखको नियुक्तिलाई हामीले अनौठो र आश्चर्यको रुपमा लिएको छैन, प्रक्रिया अघि बढ्छ ।’ यद्यपी उनले आगामी सरकारले प्रदेश प्रमुखहरुको काम÷कारबाही राम्रो ढंगले अघि बढेको नपाए त्यसमा विचार पुर्याउन सक्ने तर्क गरे ।

त्यस्तै, उनले प्रदेशको अस्थायी राजधानीको बारेमा पनि टिप्पणी गर्दै भने, ‘प्रदेश सभाले निर्णय गर्छ, अस्थायी राजधानीको बारेमा अहिले आन्दोलन भयो भनेर संघीयतासँग जोडेर हेर्नुहुँदैन्, राजधानी तोक्ने काम प्रदेश सभाको हो ।’

खनालले नयाँ संविधान जारी भएपछिको पहिलो महानिर्वाचन सम्पन्न भएर मुलुक नयाँ चरणमा प्रवेश गरेको बताउँदै भने, ‘हामीले क्रान्ति, संघर्षको युगलाई पार गरेका छौं, अब मुलुकमा स्थायित्व, विकास निर्माण, समृद्धिको यात्रातर्फ अघि बढाउनुपर्छ, यो निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता हाँसिल गरेको छ, झण्डै हामी दुई तिहाई नजिक पुगेका छौं ।’

उनले फागुनको दोस्रो हप्ताभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने विश्वास दिलाए । खनालले भने, ‘वाम गठबन्धनमा पनि एमालेको नेतृत्वको सरकार बन्ने कुरामा विवाद छैन, सरकार बन्छ ।’

त्यस्तै, खनालले नेपाल–भारत सम्बन्ध पनि सुमधुर हुनुपर्नेमा जोड दिँदै १९५० को असमान सन्धि खारेज गरेर नयाँ सन्धि जारी गर्नुपर्ने बताए । उनले भने, ‘भर्खर–भर्खर शीतयुद्ध भएको बेला भएको नेपाल–भारतको १९५० को सन्धि, अहिले त्यो बेलाको विश्व परिस्थिति पनि बदलिएको छ, भारत पनि बदलिएको छ, र नेपाल पनि बदलिएको छ ।’

Advertisement

Advertisement

Advertisement