युवती बलात्कारको घटनामा प्र.नि ठकुरीलाई प्रहरी मुख्यालय झिकाइयो

Advertisement

काठमाडौं: छ दिन अघि दरबारमार्गको होटेल ल्याण्डमार्कमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटना गुपचुप राखेर मिलापत्र गराएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमारमार्गका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि मंगलबार झिकाएको छ ।

गत बिहीबार होटलमा आफ्ना पुरुषसाथीसंग होटल पुगेकी युवतीलाई अन्य तीन केटाहरुले नशाको सुरमा सामूहिक बलात्कार गरेको आरोप छ।

दरबारमार्ग वृत्तले घटना गुपचुप राखे पनि प्रहरी प्रधान कार्यालयमा उक्त घटनाको ब्यहोरा पुगेपछि मुख्यालयले प्रहरी परिसर टेकुलाई छानविन गर्न निर्देशन गरेको थियो ।

सोमबार प्रहरी परिसरले महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ ।

होटलमा मदिरा पिएपछि नसामा लठ्ठीएकी युवतीमाथि युवाहरुले बलात्कार गरेको आशंका छ । घटना थामथुम पार्न प्रहरीले पैसाको लेनदेन मिलाएको आशंका छ ।

प्रहरी मुख्यालयको उजुरी छानविन महाशाखाको निर्देशनमा परिसरले प्रहरी निरीक्षक ठकुरीलाई मुख्यालय तानेको हो । प्रहरीको एक नम्बर गणमा राखेर उनीमाथि छानविन भइरहेको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी रविन्द्र धानुकले घटनाको निष्पक्ष छानबिन हुने बताए ।

Advertisement

Advertisement

Advertisement