भक्तपुरमा १६ लाखमाथिको धनमाल लुट्ने चार जना पक्राउ

Advertisement

भक्तपुरः भक्तपुरको सिपाडोलमा गत १० गते भएको डकैतीमा संलग्न समूहमध्येका चार जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय भोजबहादुर थापामगर, सिन्धुलीका ४० वर्षीय रत्नाबहादुर तामाङ, काभ्रेका २६ वर्षीय अमृत तामाङ र काभ्रेकै २७ वर्षीय सानुकान्छा ब्लोन रहेका छन् ।

लुटेरा समूहले काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सूर्यविनायक नगरपालिका–८ सिपाडोल गणेश स्कूल नजिकै मनहरि बस्नेतको घरमा डेरा बस्ने कुखुरा व्यवसायी रामबहादुर तामाङको डेरामा पेस्तोल र खुकुरी देखाएर १६ लाख सात हजार ९०० रुपियाँ बराबरको नगद, सुनका गहना, मोबाइललगायतका अन्य सामग्री लुटेका थिए ।

घटनामा संलग्न भई फरार भएका अन्यको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले जानकारी दिए । पक्राउ परेकाबाट चोरीको गहना, मोटरसाइकल प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिलाई सरकारले गत वर्ष गणतन्त्र दिवशका अवसरमा कैद मिनाहा गरेर छाडेको थियो ।

यसरी भयो घटना

महाशाखाका अनुसार घटना भएको दिन साँझ ८ बजे भक्तपुर जगातेमा घटनामा संलग्न रहेका आठ जना भेट गरी पीडितको घर नजिक खाजा खाई डकैती गर्ने घरको निगरानी गरेका थिए ।
राती ९ बजे पीडितको घर नजिक गणेश चोकस्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुञ्जेल निगरानी गरेका थिए । राति २ बजेको समयमा घरमा प्रवेश गरी खुकुरी र पेस्तोल देखाई परिवारका सबैलाई नियन्त्रणमा लिई नगद, सुनका गहना, मोबाइलसमेत लिएर निजको घर कम्पाउण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मोटरसाइकलसमेत लिई गएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् उनीहरुले मोटरसाइकल तथा पैदलबाट बौद्ध जोरपाटी आएर नगद भाग लगाएका थिए । डकैती गरेका सुनका गहना सोही समूहका विष्णु भन्ने अमृत तामाङले मूर्तिको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद दुई लाख ९० हजार रुपियाँ लिएको समेत खुलेको महाशाखाले जानकारी दिएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई डकैती गर्दाको धनमालसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार डाँका चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ ।

Advertisement

Advertisement

Advertisement