कर नतिरेको भन्दै सर्वोच्चले बोलाएको बेला करोडौं खर्चिएर सलमान नचाउँदै गोर्खा ब्रुअरी

Advertisement

काठमाडौंः कर नतिरेर पटक पटक विवादमा फँस्दै आएको गोर्खा ब्रुअरीले करोडौं रुपियाँ खर्चिएर भारतीय नायक सलमान खानसहित आधा दर्जन भारतीय रंगकर्मीलाई नेपाल ल्याउने तयारी गरेको छ । बहुर्राष्ट्रिय कम्पनी कार्सबर्गको ८० प्रतिशत लगानी रहेको गोर्खा ब्रुअरीले सलमानलाई मात्रै ११ करोड रुपियाँ तिरेर नेपाल ल्याउन लागेको हो ।

बहुर्राष्ट्रिय कम्पनी कार्सबर्गको ८० प्रतिशत लगानी रहेको गोर्खा ब्रुअरीले करोडौं रुपियाँ अन्तःशुल्क र मूल्यअभिवृद्धि कर नतिरेपछि कर कार्यालयले उक्त कम्पनीलाई जरिवानासहित कर निर्धारण गरेपछि कम्पनीले अहिले कर कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको छ ।

उक्त मुद्दामा कम्पनी र कर कार्यालय दुवैलाई सर्वोच्च अदालतले आउँदो फागुन १५ गते हाजिर हुन भनेको छ । यसअघि डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि ९० करोड रुपियाँ कर छलेपछि कार्सबर्ग ग्रुपले आफूहरुले नभई खेतान समूहले नतिरेकोले उसैले तिर्नुपर्छ भनेपछि खेतान ग्रुपले कर तिरेको थियो ।

छली गरेको ९० करोड कर तिरेपछि करिव टाट पल्टिएको खेतान समूहले गोर्खा ब्रुअरीको आफ्नो ५० प्रतिशत हिस्साबाट ३० प्रतिशत सेयर कार्सबर्ग समूहलाई नै बिक्री गरेको थियो । सँगसँगै उक्त समयसम्म खेतान समूहले सम्हाल्दै आएको कम्पनीको व्यवस्थापन पनि कार्सबर्ग ग्रुपले खोसेर आफैले सञ्चालन गर्दै आएको छ ।

तर, कार्सबर्ग ग्रुप आफैले व्यवस्थापन लिएपछि पनि करछली विवादमा पर्दै आएको छ । चुडामणि शर्मा संलग्न कर फच्र्यौट आयोगबाट ८६ करोड रुपियाँ भन्दा बढि छुट लिएको गोर्खा ब्रुअरीले आर्थिक बर्ष २०७१–७२ मा वियरहरु बिक्री गरेवापत कर नतिरेपछि कर कार्यालयले कर निर्धारण गरेको थियो ।

बारम्बार कर छली गर्ने, निर्धारण गरिएको कर पनि नतिर्ने र पहुँचको आधारमा छुट गराउँदै आएको गोर्खा ब्रुअरीको लगानीकर्ता कार्सबर्ग ग्रुप आफै पनि कर छल्न संलग्न रहेको पुष्टि भएको छ । नियमानुसार सरकारलाई कर नतिरी अदालतमा मुद्दा हालेको कम्पनी आफैले भने करोडौं रुपियाँ खर्चिएर सलमानलाई नेपालमा नचाउने तयारी गरेको छ ।

त्यसका लागि उसले करोडौं रुपियाँ प्रवद्र्धनमा समेत खर्च गरिरहेको छ । यस विषयमा सोध्न खोज्दा कम्पनीका आधिकारिक कर्मचारीहरु वैभव शर्मा र सुबोध शर्माले कुरा गर्न मानेनन् । आउँदो मार्ग १० मा नेपाल आउने र सैनिक मञ्च अगाडि कन्सर्ट आयोजना गर्ने भन्दै महंगो मूल्यमा टिकट बिक्री गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement