काँग्रेस महामन्त्री कोइरालाको जिकिर – ‘पार्टीको नेतृत्व परिवर्तन गर्नैपर्छ र त्यो अधिवेशनबाट हुन्छ’

रत्ननगर, चितवन: नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले भने, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।”

nic-asia

वाम एकताको विषयमा पत्रकारले सोधेको जिज्ञासामा महामन्त्री डा कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै “हामीलाई चुनौती छ, हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ”, भने ।

अब काँग्रेस संगठित हुने सम्भावना बढिरहेको बताउँदै उहाँले यो एकताले पनि काँग्रेसलाई तपाईंहरु आफ्नो पार्टीलाई ठीक गर्नुस् भन्ने सन्देश दिएको बताए ।

महामन्त्री डा कोइरालाले पार्टी कमजोर भएको स्वीकार गर्दै पार्टी सुदृढीकरणको प्रक्रिया शुरु भइरहेको समेत दाबी गरे ।

महासमिति र केन्द्रीय समितिको बैठक डाक्ने तयारीमा रहेको भन्दै उहाँले त्यसमा कमीकमजोरीबारे गम्भीर छलफल हुने धारणा व्यक्त गरे ।

महामन्त्री डा कोइरालाले पार्टी संसदीय दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहले पनि चाहना राखेको भन्दै आफू सर्वसम्मतिमा भए मात्रै संसदीय दलको नेतामा जाने जिकिर गरे । चुनाव हुने अवस्थामा भने नजाने उनले प्रस्ट्याए ।

महामन्त्री डा कोइरालाले काँग्रेसले चुनावका बेलामा केही दलसँग सहकार्य गरेको जानकारी दिँदै अब विभिन्न दल मिल्ने विषयमा काँग्रेस गम्भीर रुपमा अघि बढ्ने बताए ।