विश्वकप क्रिकेट छनोट: सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड्स आज भिड्दै

Advertisement

काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सातौं स्थानका लागि नेपालले शनिवार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

भलै सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्नो पछिल्ला दुई खेलमा जित निकाल्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता भने पाउन सफल भएको छ ।

नेदरल्याण्ड्सले पनि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एक दिवसीय मान्यता पक्का गरिसकेको छ ।

दुवै टोलीले यो प्रतियोगिता सकिएपछि एक दिवसीय टोलीको मान्यता पाउने हुन् । आजको खेललाई आईसीसीले 'लिस्ट ए'को मान्यता नै कायम राखेको छ । दुवैले एक दिवसीय मान्यता पाइसकेकाले आजको खेल प्रतिष्ठाका लागि मात्र हो ।

नेपालले पपुवान्युगिनी र नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौं स्थानको 'प्ले अफ' भेट पक्का गरेका हुन् । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुनेछ ।

दुई वर्षअघि आईसीसी लिग च्याम्पियन्सिपमा भएको एक भेटमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने अर्को खेलमा नेपाल पराजित भएको थियो ।

अब नेपाल र नेदरल्याण्ड्स विश्व क्रिकेटका शीर्ष १६ मध्येका टीम हुन् । जसमा अष्ट्रेलिया, भारत, पाकिस्तानसहितका १२ टेस्ट राष्ट्र पनि सामेल छन् ।

Advertisement

Advertisement

Advertisement