नेपाल टेलिकमको प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा औपचारिकरुपमा सुरु

Advertisement

काठमाडौंः नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा सुचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले नमस्ते क्रेडिट सेवाको शुभारम्भ गरे ।

राज्यमन्त्री बास्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको नेपाल टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा शुभारम्भ गरेको बताए । नेपाल टेलिकमका अन्य सेवाको तुलनामा कभरेज तथा ग्राहक संख्याको हिसाबले पहिलो रहेको प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकोले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयता वृद्धि गर्न थप बल पुग्ने बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको नमस्ते क्रेडिट सेवा अर्को कोशेढुंगा सावित हुने बताइन । उनले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने बताउँदै यसबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने बताइन ।

कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम पाँचदेखि ४० रुपियाँसम्म उपलब्ध हुनेछ । सो रकमपछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।

कमसेकम तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुनेछ । कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि क्त्ब्त्ग्क् लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । त्यसैगरी यो सेवा बन्द गर्नका लागि क्त्इए लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि क्त्ब्च्त् लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement