भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

Advertisement

चितवनः आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो ।

मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले बताउनुभयो । कार्यालयले चैत मसान्तसम्ममा मूल्य अभिवृद्धि करतर्फ ८९ करोड ३६ लाख ८९ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकामा ८० करोड एक लाख ८५ हजार रुपियाँ मात्रै संकलन भएको छ । पङ्गेनीले मूल्य अभिवृद्धि बिल नकाट्ने, कम काट्ने र कुनै पनि किसिमको करको दायरामा नआउनेसमेत भेटिएपछि तीव्र अनुगमन गरिएको बताए । अनुगमनका क्रममा भ्याट बिल नकाटेको पाइएमा नियमानुसार कारवाही गरिने उनले जानकारी दिए ।

कार्यालयका कर्मचारीहरुले सुराक सञ्जालसमेत प्रयोग गरेर अनुगमन गरिरहेका छन् । कतिपय कम्पनी तथा प्रतिष्ठानमा आशंका देखिएकामा पूर्ण लेखापरीक्षण गरी कर कायम गर्ने काम पनि कार्यालयले गरिरहेको छ ।

कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलका अनुसार मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको हकमा १२ महिनामा रु ५० लाखसम्म कारोवार हुँदा दर्ता हुन नपर्ने व्यवस्था छ । साथै मूल्य अभिवृद्धि लाग्ने वस्तु तथा सेवा मिश्रित कारोवार र सेवाको हकमा २० लाख रुपियाँसम्मको कारोवार हुनेले दर्ता गर्नु नपर्ने व्यवस्था भएको उनले बताए । एक पटकमा १० हजार रुपियाँभन्दा बढीको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु पैठारी गर्दा पनि दर्ता गर्नुपर्ने व्यवस्था रहेको अधिकृत पौडेलले जानकारी दिएका छन् ।

कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १४ अर्ब ४५ करोड ६७ लाख रुपियाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको १०७ प्रतिशत हुन आउँछ । यस आवमा कार्यालयले १९ अर्ब ७४ करोड रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गतवर्ष १६ अर्ब ८८ करोड २० लाख रुपियाँ राजश्व संकलन गरेको थियो ।

कार्यालयले चितवन र नवलपुुर जिल्ला हेर्दै आएको छ । यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजश्व अन्तःशुल्कबाट उठ्ने गरेको कार्यालयका प्रमुख पङ्गेनीले बताए । हाल कार्यालयको मातहतमा करीब ८० हजार करदाता छन् ।

Advertisement

Advertisement

Advertisement