आयात घट्दा पनि भन्सार राजश्वमा ११.१३ प्रतिशतको वृद्धि, कति उठ्यो आयात कर ?

Advertisement

काठमाडौं । आयातमा घट्दा पनि भन्सार राजश्वमा भने उच्च वृद्धि देखिएको छ । चालु आर्थिक बर्ष २०८०–८१ को चैतसम्ममा भन्सार महशुल ११.१३ प्रतिशतले बढेको हो । 

भन्सार विभागबाट प्राप्त तथ्यांकअनुसार उक्त अवधीमा आयातबाट सरकारले तीन खर्ब छ अर्ब ८० करोड रुपियाँ राजश्व प्राप्त गरेको छ । गत आवको सोही अवधीमा भने सरकारले यस राजश्ववापत दुई खर्ब ७६ अर्ब पाँच करोड रुपियाँ राजश्व उठाएको थियो । 

Advertisement

गत आर्थिक वर्षभर भने भन्सार राजश्व तीन खर्ब ७७ अर्ब २६ करोड रुपियाँ संकलन भएको थियो । समीक्षा अवधीमा नेपालको वस्तु आयात २.८४ प्रतिशतले घटेको छ । गत आवको नौ महिनामा १२ खर्ब एक अर्ब रुपियाँको आयात भएको थियो । यसपाली त्यो ११ खर्ब ६७ अर्ब रुपियाँमा सीमित भएको छ । 

विशेषगरि, बढी कर लाग्ने वस्तुको आयात बढी हुँदा राजश्व बढी उठेको बताइन्छ । कुनै पनि वस्तु आयातमा सरकारले १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट)सहित विभिन्न शीर्षकमा कर उठाउने गर्छ । वस्तु अनुसार फरक फरक दरमा कर उठाइन्छ । सामान्यता अहिले पेट्रोलियम पदार्थ र निजी सवारी साधनमा बढी कर लगाइन्छ । 

यस नौ महिनामा सबैभन्दा धेरै भन्सार राजश्व पनि डिजेलबाट उठेको छ । एक खर्ब ३ अर्ब रुपियाँको डिजेल आयात हुँदा ३९ अर्ब ९८ करोड १२ लाख रुपियाँ राजश्व उठेको छ । दोस्रो स्थानमा भने पेट्रोल रहेको छ । पचास अर्ब २५ करोड ३९ लाख रुपियाँको पेट्रोल आयात हुँदा २८ अर्ब ९५ करोड ४७ लाख रुपियाँ राजश्व उठेको छ । 

तेस्रो स्थानमा भने खाना पकाउने एलपी ग्याँस रहेको छ । एकचालिस अर्ब रुपियाँको खाना पकाउने ग्याँस आयात हुँदा सात अर्ब ६४ करोड ९५ लाख रुपियाँ कर उठेको छ । 

सरकारको आम्दानी नै बढी भन्सार राजस्वमा आधारित छ । सरकारको कुल राजश्वमा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्मको हिसा भन्सार राजश्वले ओगटेको हुन्छ । अरु देशमा भने प्रायः यो स्थिति हुँदैन् । समीक्षा अवधीमा पनि यसको हिस्सा ४५.७१ प्रतिशत छ । 

सरकारले चैत मसान्तसम्म छ खर्ब ७१ अर्ब ११ करोड रुपियाँ बराबरको करमा आधारित आम्दानी गरेको छ । त्यसमा तीन खर्बभन्दा बढी कर भन्सारबाट उठेको तथ्यांकले पुष्टी गरेको छ । भन्सार विभागले भन्सार छली गर्न खोज्दा पक्राउ गरेका सामानलाई लिलामीमा बिक्री गरेर पनि थप आम्दानी गर्छ । त्यो तथ्यांक भने यसमा समावेश छैन ।

Advertisement