केन्द्र सरकार काठमाडौंमा हुँदाहुँदै जनकपुरबाट मोदीको भ्रमण ठिक भएनः साउद

Advertisement

काठमाडौंः काँग्रेस नेता एनपी साउदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई आफ्नो पार्टीले स्वागत गर्दै सफल बनाउन सहयोग गर्ने बताएका छन् । तर मोदीको भ्रमण सफल बनाउने काम भने खासमा सरकारको भएको बताएका छन् ।

रिपोर्टर्स क्लवमा सोमबारसाउदले मोदीको भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा थप हार्दिकता आउने दावी गरे । उनले भने, ‘भ्रमण सफल बनाउनको लागि सरकारले यथेष्ट गृहकार्य गर्नुपर्छ । सायद गरेको होला पनि । भ्रमणलाई उच्चतम हितमा प्रयोग गर्नुपर्छ ।’

नेता साउदले मोदीको भ्रमण औपचारिक रुपमा काठमाडौंबाट भएको भए राम्रो हुनेथियो भन्ने प्रतिक्रिया दिए । उनले थपे, ‘औपचारिक भ्रमण काठमाडौंबाट सुरु भएको भए राम्रो हुनेथियो । काठमाडौंपछि जनकपुर हुँदै मुक्तिनाथ गएको भए राम्रो हुनेथियो । किनकी केन्द्रीय सरकार त काठमाडौंमा छ । जे भएपनि उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’

यसअघि नेपालका प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि यसपटक केही पनि नयाँ सम्झौता नहुने भनेर गएको भएपनि नेपाल र नेपालीहरुलाई झुक्याएको साउदले बताए । उनले थपे, ‘भारत उड्नुअघिसम्म उहाँले यसपटक नयाँ केही हुँदैन भन्नुभएको थियो । तर, उहाँले जलमार्ग र रेलमार्ग लगायतका सम्झौता गर्नुभयो । उहाँले हामीलाई झुक्याउनुभयो ।’

मोदीको भ्रमणलाई सरकारले पारदर्शी बनाउनुपर्ने पनि उनको सुझाव छ । साउदले थपे, ‘भ्रमणबाट नेपाली जनताले के–के पाए ? अथवा के के दिए ? अथवा राष्ट्रिय हितमा काम भयो कि भएन ? भन्नेबारे सरकारले पारदर्शीता अपाउनुपर्छ ।’

त्यतिमात्रै नभएर मोदी भ्रमणबारे जारी संसदलाई पनि यथेष्ट जानकारी वर्तमान सरकारले गराउनुपर्ने उनले जिकिर गरे । साउदले नेपालमा हुँदा ठूला कुरा गर्ने दिल्लीमा जाँदा लम्पसार हुने अथवा ‘बोनलेस’ हुन नहुने सुझाव प्रधानमन्त्री ओलीलाई दिए । भारतसँग रहेको डरलाग्दो व्यापार घाटा घटाउनको लागि सरकारले आफ्नो संभावनाका क्षेत्रहरु पहिल्याउनुपर्ने पनि नेता साउदको सुझाव छ ।

Advertisement

Advertisement

Advertisement