सिकाइमै बित्यो जनप्रतिनिधिको एक वर्ष

Advertisement

तेह्रथुमः छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दिनमात्रै हैन, रात पनि गाउँपालिकाकै काममा बिताउछन् ।

बिहान उठेदेखि साँझ बिछ्यौना पर्दासम्मको कार्यतालिका पहिल्यै तयार भइसक्छ उनको । लामो समयपछि जनप्रतिनिधि चुनिएर स्थानीय तहमा आएपछि नागरिकले आफ्ना आवश्यकता, समस्या र अप्ठ्याराहरु सुनाउने ठाउँ पाएका छन् ।

अध्यक्ष लिम्बू भन्छन्, “सबैका कुरा सुन्नैपर्छ, उस्तै पर्दा आफ्नै सरसफाइ गर्ने, खाने र आराम गर्ने समय पनि मिल्दैनँ ।” कार्यालय समयबाहेकका अधिक समय उनले गाउँमा हुने विभिन्न कार्यक्रम, गोष्ठी, उद्घाटन र न्याय निसाफका गतिविधिमा खर्चिएको बताए । तर उनीसँग पहिलो वर्ष सकिन लाग्दा देखाएर भन्न सक्ने कुनै उपलब्धि छैन । अहिले पनि गाउँपालिका कार्यालय नै व्यवस्थित भइसकेको छैन ।

आवश्यक ऐन कानून बनाउन बाँकी नै छन् । कर्मचारी पूर्ण छैनन् । “धेरै कुरा अझै आफैँले पनि बुझ्न बाँकी छ”, उनी भन्छन् । “निर्वाचित भएको एक वर्ष बित्न लाग्यो, तर उपलब्धि केही छैन”, उनले भने, “खासमा भन्दा पहिलो वर्ष सिकाइमै बित्यो ।” म्याङ्लुङ नगरपालिकाकी उपप्रमुख पार्वतीसानु डाँगी पनि पहिलो वर्ष सिकाइमै बितेको बताउछन् । उनी भन्छन्, “धेरै कुरा गर्न खोजियो, तर एकैपटक के नै गर्न सकिन्छ र ? खासमा यो वर्ष सिकाइमै बित्यो ।”

निर्वाचित भएको पहिलो वर्ष थिति, पद्धति र ऐन कानून बुझ्न र बनाउनमै बितेको उनी बताउछन् । उनले आफूहरुको पहिलो वर्ष बित्न लाग्दा अहिलेसम्म यति काम गरियो भनेर देखाउने केही पनि आधार नभएको बताए ।

जिल्लाका धेरैजना जनप्रधिनिधिले चुनावमा खाएका कसम पूरा गर्न चाहँदाचाहँदै पनि पहिलो वर्ष सिकाइकै रुपमा बितेको बताउँछन् । जनप्रतिनिधिले सिकाइ वर्षका रुपमा बिताएको पहिलो वर्षलाई नागरिकले पनि सहजै बुझेका छन् ।

उनीहरु भन्छन्, “जनप्रतिनिधि पनि भर्खरै आएका हुन्, उनीहरुले नै बुझेका छैनन्, अब गर्छन् कि भन्ने आशा छ ।” जनप्रतिनिधिको बुझाइ र नागरिकको धारणा मेल खाए पनि पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित भएर आएका जनप्रतिनिधिको वचनबमोजिमका काम सुरु नै भएका छैनन् ।

चुनावताका उनीहरुले बनाएका योजना शुरुवात गर्ने मेलो उनीहरुले पाएका छैनन् । काम गर्दै, सिक्दै गरेको र गर्ने क्रममा केही गल्ती भए पनि आगामी दिनमा सुधारसहित जनहितमा काम गर्ने उनीहरूको प्रतिबद्धता छ ।

गतवर्ष योजना छनोट र बजेट विनियोजनमा भएका कमीकमजोरी सच्याउँदै आगामी आर्थिक वर्षका लागि फरक ढंगबाट काम गरिरहेको फेदाप गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङ्वाङले बताए । जिम्मेवारी सम्हालेको वर्ष दिन बित्न लागेपछि पहिलो वर्ष सिकाइमै बितेको र आगामी वर्षबाट त्यसलाई व्यवस्थित गर्न प्रयत्न गरिरहेको उनले स्वीकारे ।

जनप्रतिनिधिहरुले पहिलो वर्षको बजेट अनुत्पादक क्षेत्रमा खर्च भएको आफैँले भन्न थालेका छन् । मोटो बजेट सडकमा खर्चिएर आफूहरुले गल्ती गरेको जनप्रतिनिधि बताउँछन् । “पहिलो वर्ष चाहेर पनि सामाजिक र आर्थिक विकासका कार्यक्रम कम बनेँ, धेरै बजेट सडकमै गयो”, आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वा भन्छन्, “आगामी वर्ष सामाजिक र आर्थिक विकाससम्बन्धी योजना प्राथमिकतामा पर्छन् ।”

उनले यो वर्ष महिला, जनजाति, विपन्न र पिछडिएका लक्षित वर्गका लागि बजेट कम भएको आभास भएको बताए । एकैपटक जनताका धेरै आवश्यकता र माग आएका छन् । “पहिलो वर्ष नबुझेर पनि गरियो, अब बुझेर गर्ने प्रयत्न छ”, उनी भन्छन् । जिल्लामा दुई नगरपालिका र चार गाउँपालिका छन् ।

Advertisement

Advertisement

Advertisement