छ वर्षमा द्रुतमार्गको प्रगति जम्मा ३१ प्रतिशत, अहिले सुरुङमार्गको काम गर्दै सेना

Advertisement

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किलोमिटर फास्ट ट्रयाक निर्माण कार्य करिव ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । 

सुस्त ढंगले निर्माण कार्य गरिरहेको नेपाली सेनाले पछिल्लो समय राजमार्गमा पर्ने सुरुङ निर्माणको काम अघि बढाएको छ । सेनाले काठमाडौं–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । 

Advertisement

द्रुतमार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणको लागि ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको छ । ठेक्का लागेका आयोजनाको काम तीब्र गतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगमी २ वर्षमा भित्रै निर्माण कार्य सकिने सेनाको भनाई छ । 

काठमाडौंबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमि ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताए । उनले फास्ट ट्रयाक निर्माणको लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने बताए । 

पोखरेलले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताए । उनले  प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भएपनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको बताए । 

अदालतले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई प्राथमिकता दिएर छिटो मुद्दा टुङ्गो लगाए फास्ट ट्रयाक निर्माणको लागि अगाडि बढाउन सहज हुने अवस्था रहेको पोखरेलले बताए । उनले सडक ठेक्का लगाउन विवादमा सहमति भए र अदालतले पनि तत्काल मुद्दा किनारा लगाईदिए समय अवधिमा नै आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने बताए । 

पोखरेलले प्याकेज ८ ‘ख’को पुनः ठेक्काको लागि आर्थिक प्रश्ताव मूल्यांकनका क्रममा रहेको भन्दै केही दिनमा टुङ्गो लग्ने बताए । उनले चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेको उल्लेख गरे । पोखरेलले नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको बताए । 

काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ । यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ  । सडक मार्गमा लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किसिमका ३ वटा सुरुङ निर्माणाधीन रहेका छन् । 

बाँकी तीन वटा देवीचौर,सिसौटार  र चन्द्राम सुरुङ प्याकेज ८ को ‘ख’ र १० नम्बर प्याकेजमा पर्ने भएपनि जमिनको बनावट कमजोर भएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको बताएको छ ।  निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौंबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौंतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ । 

दु्रत मार्गका ३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तीब्र रुपमा गरिरहेको आयोजनाले बताएको छ । बाँकी तीन वटा निर्माण कम्पनीका इन्जिनियर विनायक शर्माले  महादेवटारमा ३.३५५ किमिमध्ये १.९४८ किमि सुरुङ खन्ने काम सकिएको बताए । 

उनले अब उक्त सुरुङमार्ग १.४०५ किमि मात्र खन्न बाँकी रहेको भन्दै आगामी दशैँ तिहारको बीचमा ब्रेक थ्रु गर्ने योजना रहेको जानकारी दिए । शर्माले धेद्रे सुरुङमार्गको १.६३० किमिमध्ये १.१७३ किमी सुरुङ खन्ने काम सकिएको बताए । शर्माले धेद्रे सुरुङमार्गको यही गतिका निर्माण कार्य भए आगामी जेठ महिनासम्म ब्रेक थ्रु गर्ने योजना रहेको बताए । 

शर्माले १.४३० किमि दूरी रहेको लेनडाँडा सुरुङ १.२०४ किमि खनिसकिएको बताए । उनले ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमि रहेकामा अब २.०९ किमि मात्र खन्न बाँकी रहेको बताए । 

द्रुतमार्गमा ८९ वटा पुन निर्माण गरिँदै छन् । आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमि रहेको छ । प्याकेज १ देखि ७ सम्म २ हजार ८ सय २ वटा फाउण्डेसन राखिनेछ । त्यसमध्ये एक हजार ६६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन् । 

कुल ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन् । महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ । धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण पनि भइरहेको छ । 

कोरियन कन्सल्टेण्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुईतर्फीको लागि २ वटा पुल बन्ने जानकारी दिए । उनले एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाईका पुल बन्ने बताए । किमले यी पुल काठमाडौंको धरहराभन्दा अग्ला रहेको उल्लेख गरे । 

नेपाली सेनाका महासेनानी तथा द्रुतमार्ग अपरेसन इन्चार्ज इन्दबीर गुरुङले द्रुतमार्गमा सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको बताए । उनले  सुरुङमार्ग बनाउन दूरी कम रहेका अग्ला स्थान कटान गरी एक्सप्रेस वे निर्माण भइरहेको उल्लेख गरे । 

गुरुङले डाँडालाई ‘स्लोप’ गरी कटान गरिएको भन्दै स्लोपमा कटान गर्दा बढी जग्गा अधिग्रहण गर्नुपरेको बताए । उनले नेपालमा निर्माणाधीन धेरै सडकमा पहिरोको जोखिम रहेको भन्दै त्यसलाई हेरेर द्रुतमार्गमा रोकथाम गर्न बायो इन्जिनियरिङमा बढी ध्यान दिएको बताए । 

सेनाले २०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने भएपनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ  । यसको शुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपियाँ भएपनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुर्याइएको छ  । अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ । 

Advertisement

Advertisement