कुल ५,४१९ आवास इकाइहरुमध्ये अब १,०९० मात्रै बिक्री हुन बाँकीः अध्ययन प्रतिवेदन

Advertisement

काठमाडौंः आवास विकासकर्ता कम्पनीहरुमार्फत निर्माण भएको कुल पाँच हजार ४१९ आवास इकाइहरुमध्ये एक हजार ९० इकाइ मात्रै बिक्री हुन बाँकी रहेको अध्ययनले देखाएको छ ।

शुक्रबार सार्वजनिक गरिएको ‘आउटलुक अफ हाउजिङ मार्केट अफ काठमाडौं २०१८–२०१९’ले अब कुनै नयाँ आवास परियोजना नआए बाँकी आवास इकाई अबको ६ देखि ७ महिनाका लागि मात्र पुग्ने देखाइएको छ । बिक्री भएका र हुन बाँकी सबै इकाइहरुमा गरेर कुल ८२ अर्ब ८६ करोड रुयिाँ लगानी भएको जनाइएको छ ।

बिक्री हुन बाँकी रहेका एक हजार ९० इकाइमध्ये ५४१ छुट्टाछुट्टै घर र बाँकी अपार्टमेन्ट रहेको जनाउँदै अहिले सरदर महिनामा कुल इकाइको ३.१ प्रतिशत बिक्री भएकोले नयाँ नथपिए अबको छ देखि सात महिनामा सबै इकाइहरु सकिने अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

घरजग्गा क्षेत्रमा सक्रिय कम्पनी बृहत ग्रूपले अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । कम्पनीले यसअघि पनि यस्ता अध्ययन गर्ने गरेको थियो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा ग्रूपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले अध्ययनबारे जानकारी दिएका थिए ।

सन् २०१८ को मार्च १७ देखि २३ सम्म गरिएको यस अध्ययनमा हाउजिङ कम्पनी तथा परियोजना, सम्बन्धित सरकारी निकाय, अन्य सरोकारवाला संघसंस्था तथा व्यक्ति, उपभोक्तासँग अध्ययन टोलीले प्रत्यक्ष भेटेर प्रश्नावली तथा विभिन्न सर्वेका विधिहरुकमार्फत प्रतिवेदन तयार गरिएको जनाइएको छ ।

अध्ययनमा काठमाडौं उपत्यकाभित्र रहेकामध्ये ४३ आवास (हाउजिङ तथा अपार्टमेन्ट) परियोजनाहरुलाई समेटिएको, जसमा २०७२ बैशाखको भूकम्पअघि आएका २३ र भूकम्पपछि बनेका २० आवास परियोजनाहरुबाट रिसर्चको स्याम्पलिङ गरिएको वृहत इन्भेष्टमेन्टले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement