तीन करोडको लागतमा धर्मशाला निर्माण

Advertisement

कञ्चनपुर । भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिर संरक्षण समितिले तीन करोड रुपियाँको लागतमा सो मन्दिरमा धर्मशाला निर्माण गरेको छ ।

मन्दिरमा सङ्कलित रकमले प्रसिद्ध सिद्धनाथ मन्दिर परिसरमा दर्शनार्थीका लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गरिएको हो । चार वर्षअघि निर्माण कार्य प्रारम्भ गरिएको धर्मशालामा दर्शनार्थी बस्नका लागि ११ कोठा, एक हल, शौचालय र स्नान घर निर्माण गरिएको छ ।

प्राचीन सिद्धनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको रकम सङ्कलन गरी धर्मशाला निर्माण गरिएको समितिको कार्यालय प्रमुख गोविन्द महताले बताए । धर्मशाला निर्माणको सबै कार्य यस वर्ष पूरा हुने उहाँको भनाइ छ ।

मन्दिर, विद्यालय तथा खेल मैदानका लागि प्रायः जसो जग्गादान गर्ने गरेको पाइन्छ तर दक्षिणी क्षेत्रअन्तर्गत एक स्थानीयले शव दाह गर्ने आर्यघाटका लागि जग्गा दान गरेका छन् ।

पुनर्वास नगरपालिका–१० विकास बस्तीका स्थानीय समाजसेवी मीनबहादुर देउवाले करीब सात लाख मूल्य पर्ने पाँच कट्ठा जग्गा शव जलाउने आर्यघाटका लागि निःशुल्क रूपमा दान गर्नुभएको छ ।

देउवा परिवारले आर्यघाटका लागि जग्गा दान गरेपछि स्थानीय बासिन्दालाई शव जलाउन सहज भएको छ । देउवाद्वारा आर्यघाटका लागि जग्गा प्राप्त गरेपछि पुनर्वास नगरपालिकाले शव जलाउने थलो, खानेपानी धारा, करीब तीन सय जना मलामी विश्राम गर्ने पक्की टहरो निर्माण गरिएको छ ।

आर्यघाट निर्माण भएपछि पुनर्वासका वडा नं १ देखि ११ सम्म का स्थानीय लाभान्वित भएका छन् ।

आर्यघाटका लागि नगरवासी जनताले नगरपालिकामा समेत बारम्बार गुहार लाउँदै आइरहेका थिए । कामचलाउ आर्यघाटका रूपमा प्रयोग हुँदै आएको वडा नं १० स्थित दोंदा नदीको किनारमा रहेको देउवा परिवारको जग्गा उपलब्ध गराइदिन केही समाजसेवीले अनुरोध गरेपछि मीनबहादुर देउवाको नाउँमा रहेको पाँच कट्ठा जग्गा प्राप्त गर्न सकिएको कुरा समाजसेवी छविलाल खनियाले बताए ।

Advertisement

Advertisement

Advertisement