ठगीको डिजिटल शैलीः अमेरिकाको नक्कली भिसा आँफै बनाउँदै लाखौं अशुल्दै

Advertisement

काठमाडौं । विभिन्न प्रविधिको दुरुपयोग गर्दै अमेरिकाको नक्कली भिसा बनाउने र अमेरिकी दूतावासबाट परियोजनाको रकम निकासा गरिदिने भन्दै लाखौं ठगी गर्ने एकजनालाई प्रहरीले फेला पारेको छ ।

पक्राउ पर्ने व्यक्ति काठमाडौं गोकर्णेश्वर–६ का २७ बर्षीय प्रशन्न खाती हुन । उनले अमेरिकी दूतावासले लगाउने भिसालगायतका कागजपत्र आफै बनाउँदै आएका थिए । तीन जना व्यक्तिले आफूलाई ठगी गरेको भन्दै उजुरी दिएपछि खातीलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ ।

खातीले आफू अमेरिकाको डिस्करी च्यानलको कर्मचारी भएको भन्दै फेक आइडी कार्ड देखाउँदै ठगी गरेको पीडितहरुको भनाई छ । खातीले पीडितहरुलाई फेसबुकबाट साथी बनाएका थिए । साथी बनाएपछि आफू डिस्करी च्यानलको कर्मचारी भएको अमेरिकाको भिसाको प्रलोभन देखाउँदै पटक पटक गरेर २० लाख रुपियाँ हात पार्न सफल भएका थिए ।

मोवाइलमा पीडितहरुको अमेरिकाको फेक भिसा देखाएर उनले पैसा उठाएका थिए । पीडितले चिनजान गराइदिएका अर्का व्यक्तिलाई अमेरिकी दूतावासअन्तर्गत रहेको कोषबाट प्रजेक्ट (परियोजना) सञ्चालनका लागि रकम निकासा गरिदिने भन्दै २५ लाख रुपियाँ ठगी गरेका थिए ।

खातीले अमेरिकी दूतावासका उच्चपदस्त कुटनीतिज्ञसँग आफ्नो राम्रो चिनजान रहेको, अमेरिकी संस्था द कार्टर सेन्टरअन्तर्गको कार्यक्रममा १० लाख अमेरिकी डलर रहेको र सो रकम आफूले निकासा गराउनसक्ने भनी विश्वास दिलाएका थिए ।

उनले विभिन्न बैंक तथा संस्थाको नक्कली स्ट्याम्प बनाई प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ । विभिन्न प्राङ्क एप्सको मद्दतबाट फेक बारकोड (क्यूआर कोर्ड) जेनेरेट गरी, फेक आइडी कार्ड बनाई विभिन्न देशका भिसाको नक्कली कागजाज बनाउने, फेक बैंक स्टेटमेन्ट तयार गर्ने र विदेशी दूतावासका अधिकारीहरुको नामको फेक इमेल आइडी समेत बनाई ठगीका क्रममा पीडितहरुलाई देखाउने काम गर्दै आएका थिए ।

खातीले डलर र पाउन्डस्टर्लिङको नोट साइजमा रहेको कागजजस्तो देखिने कालो रंगको वस्तु –कथित ब्ल्याक डलर)लाई केमिकलको सहायतामा डलर र पाउन्डस्टर्लिङमा परिवर्तन गर्न सकिन्छ भनेर योजना समेत बनाइरहेको प्रहरीको भनाई छ ।

गोकर्णेश्वर मकलबारीबाट साउन २३ गते पक्राउ परेका खातीलाई विद्युतीय कारोबार ऐनअनुसार कसुरमा समेत थप छानविन भइरहको जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरीको दुरुपयोग गर्न सिपालुहरुले बारकोड, क्यूआरकोर्ड, बैंक स्टेटमेन्ट, विभिन्न आइडी कार्ड प्रयोग गर्ने गरेकोले त्यस्ता कुराहरुमा सचेत रहन पनि सल्लाह दिएको छ ।

Advertisement

Advertisement

Advertisement