फेक रेस्क्युमा संलग्न १५ संस्थालाई कारवाही थालियो

Advertisement

काठमाडौं । पर्यटकहरुको फर्जी उद्धार (फेक रेस्क्यु) गरेर आर्थिक हिनामिना गरेको आरोपमा पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले विभिन्न ट्राभल—ट्रेकिङ कम्पनी, अस्पताल र हेलिकप्टर कम्पनीलाई कारवाही अगाडी बढाएको छ ।

फर्जी उद्दार गरेर आर्थिक हिनामिना गरेको गुनासो आएसँगै मन्त्रालयले छानविन समिति गठन गरेको भियो । समितिले दिएको सुझावबमोजिम मन्त्रालयले कारवाही अघि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले जानकारी गराए ।

मन्त्री अधिकारीले सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै आठवटा ट्राभल ट्रेकिङ तथा उद्धार कम्पनी, चारवटा अस्पताल, तीनवटा हेलिकप्टर कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी गराए ।

राजस्व चुहावट अन्तर्गत पनि कारवाहीका लागि सिफारिस गरिएको मन्त्री अधिकारीले बताए। विदेशी मुद्राको कारोबार गर्न अनुमति नलिएको देखिएका पाँच कम्पनीलाई नेपाल राष्ट्र बैंक समक्ष पठाइएको उनले बताए।

‘‘निर्धारित मापदण्ड अनुसार उपचार शुल्क लिएनलिएको र चिकित्सकीय मर्यादाभित्र रही उपचार भएनभएको विषयमा कारवाहीका लागि स्वास्थ्य जनसंख्या मन्त्रालयमा लेखिपठाइएको छ।’ मन्त्री अधिकारीले भने,‘ ‘उद्धारमा संलग्नहरुको बारेमा नक्कली कागजात तयार पारी बीमा दावी गर्ने सम्बन्धमा छानविन गरी कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरिएको छ।’

मन्त्री अधिकारीले आगामी दिनमा यस्तो कार्यलाई निरुत्साहित गर्न भदौ १५ भित्र निर्देशिका तयार गरेर लागू गर्ने जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement