एक अर्बको लगानीमा चाउचाउ उद्योग

Advertisement

झापा । झापामा एक अर्ब रुपियाँको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा एक अर्ब रुपियाँ लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक अजय अग्रवालले झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले चाउचाउ उद्योग सञ्चालनमा ल्याएका बताए । ‘सरकारले एक घर एक रोजगारीको अवधारणा ल्याएको छ, रोजगारी सिर्जनाका लागि पनि उद्योग स्थापना गरेका छौं ’ उनले भने । उद्योग पूर्ण क्षमतामा सञ्चालन आएपछि करीब तीन सय जनाले रोजगारी पाउने उनले बताए ।

उद्योगमा पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी गरेका छन् । मनषा थाई फुड्स मेची अञ्चलमै पहिलो तयारी चाउचाउ उद्योग रहेको सञ्चालक पर्शुराम अग्रवालले जानकारी दिए ।
पहिलो चरणमा उद्योगबाट उत्पादित चाउचाउ नेपालका सातै प्रदेश र भारतीय बजारमा निर्यात गर्ने लक्ष्य रहेको जनाइएको छ । सञ्चालक ओमप्रकाश अग्रवालले भने, ‘निकट भविष्यमै अमेरिका र अष्ट्रेलियासमेत निर्यात गर्ने योजना छ ।’

उद्योगमा हालसम्मकै अत्याधुनिक प्रविधि र मेशिनको प्रयोग गरेर चाउचाउ उत्पादन शुरु गरिएको सञ्चालक गणेश प्याकुरेलले बताए । ‘क्षमताको हिसाबले हाम्रो उद्योग नेपालमै पहिलो हो’, सञ्चालक प्याकुरेलले भने, ‘उद्योगबाट दैनिक साढे सात लाख प्याकेट तयारी चाउचाउ उत्पादन गर्न सकिन्छ ।’

पूर्ण प्रशोधित तरिकाले चाउचाउ उत्पादन गर्ने भएकाले एक प्याकेट चाउचाउ उत्पादन गर्न २० मिनेट लाग्ने उनले बताए । ‘अब हर घर मग्मगाउँछ’ भन्ने मूल नाराका साथ कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) ‘ब्राण्ड एम्बेसेडर’ रहेको उद्योगले जनाएको छ ।

उद्योगबाट मग मग, प्यारी, रेलिमाई, गट्टुबट्टु ब्राण्डका चाउचाउ र चीजबल, चीजरिङ, कुटुकुटु, पोटेटो क्र्याकर, कर्न फ्लेक्स, चोकोसलगायतका स्न्याक्स उत्पादन हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement