संविधान संशोधन हुन्छ भने बस्ने हो, नभए सरकार छोडिन्छः फोरम

Advertisement

काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवं सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको बताएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘हाम्रो पार्टी दुई बुँदे सम्झौता गरेर सरकारमा गएको बताउँदै जबसम्म संविधान संशोधन हुँदैन्, तबसम्म यो सर्वस्विकार्य हुँदैन् ।’

नेता यादवले आफ्नो पार्टीले भोलिको संविधान दिवसलाई दिवसको रुपमा पनि नमनाउने र कालो दिवस पनि नमनाउने स्पष्ट पारे । उनले भने, ‘न हामी दिवस मनाउँछौं । न त कालो दिवस नै । अहिलेपनि संविधानमा हाम्रो असन्तुष्टि छ । खास गरेर सीमांकनको कुरामा हाम्रो असन्तुष्टि छ । हामीले १० प्लस हुनुपर्छ भनेका छौं ।’

संविधानमा नागरिकतालगायत धेरै प्रावधानमा आफूहरुको असन्तुष्टि रहेको जनाउँदै उनले संविधान संशोधन भएपछि मात्रै नेपालीहरु खुशी हुने जनाए । यादवले भने, ‘हाम्रो पार्टी संविधान संशोधन गराउनकै लागि सरकारमा गएको हो । हामीसँग प्रधानमन्त्रीले लिखित सम्झौता गर्नुभएको छ । उहाँले हामीसँगको व्यक्तिगत भेटघाटमा हामीले टेन्शनमा संविधान संशोधन गर्यौं भन्नुभएको छ । उहाँले पनि कमजोरी छ भनेर स्विकार गर्नुभएको छ । संविधान हडबडमा ल्याएकोले गडबड छ ।’

यादवले यही वर्षभित्र संविधान संशोधन नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने पनि चेतावनी दिए । उनले भने, ‘संविधान संशोधन नभए हाम्रो पार्टी एक सेकेण्ड पनि सरकारमा बस्दैन् । यो वर्षभित्र संशोधन हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’
उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीका नेता मुख्यमन्त्री रहेकोले भोलि प्रदेश सभामा मनाउने संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement