‘अब गरीबी र बेरोजगारी सहन सकिन्न’

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले देशले अब गरीबी, निरक्षरता र बेरोजगारी सहन नसक्ने बताएका छन् ।

शहीद अजबलाल स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको ‘शहीदका सपना र सरकारको दायित्व’ विषयक अन्तक्र्रियामा उनले देश र जनताको पक्षमा बलिदान गर्ने शहीदको सपना साकार पार्न देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, “मुलुकले गरीबी, बेरोजगारी र अशिक्षा सहन सक्दैन । जनताले विश्वास गरेर दुई तिहाइको सरकार बनेको छ । यो मत खेर जान दिनुहुन्छ । शहीदको सपनालाई साकार तुल्याउन देशलाई समृद्धि र आत्मनिर्भरतातर्फ बनाउनैपर्छ ।”

उनले विभिन्न खाले सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रलाई संस्थागत तथा संविधान कार्यान्वयनलाई गति दिँदै उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तत्कालीन जनयुद्धका शहीदलाई सरकारले राष्ट्रिय शहीदको सूचीमा राखी आश्रित परिवारलाई राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए ।

समाज रुपान्तरणका खातिर जीवन बलिदान गर्ने शहीद अझै पनि सामाजिक अपमान तथा आर्थिक समस्या भोग्न बाध्य रहेको भन्दै उनीहरुलाई सामाजिक सम्मानको वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिए ।

नेकपाका केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले शहीदको योगदानलाई कदर गर्दै उनीहरुका परिवारलाई जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिष्ठानका अध्यक्ष शीला यादवले राजनीतिक परिवर्तनका लागि जीवन बलिदान गर्ने शहीदलाई राष्ट्रले उच्च सम्मानका साथ परिवारको हेरचाहमा ध्यान दिनुपर्ने बताउए ।

तत्कालीन नेकपा (माओवादी) जनयुद्धका क्रममा विसं २०५८ चैत ९ गते अजबलाल यादवको मृत्यु भएको थियो ।

Advertisement

Advertisement

Advertisement