विवादास्पद पप्पुलाई काँग्रेसको संरक्षण, राष्ट्र बैकको भवन बनाउने ठेक्का पप्पुलाई दिनुपर्ने दावी

Advertisement

काठमाडौं । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमानुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने जिकिर गरेका छन् ।

शनिबार एक कार्यक्रममा उनले सार्वजनिक खरिद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनौट भएको पप्पुको फाइल अब अल्झाएर राख्न नहुने तर्क गरे । समयमा काम नगर्ने, गुणस्तरहीन काम गर्ने भएकोले पप्पुलाई कारवाही गर्नुपर्ने चौतर्फी आवाज उठिरहेको बेला काँग्रेसनिकट निर्माण व्यवसायीको संगठनलाई हतियार बनाएर कोइरालाले सार्वजनिक कार्यक्रममा पप्पुको पक्षमा बोलेका हुन् ।

उनले भने, ‘पप्पु एक्लैले प्रस्ताव हालेको होइन । उसले चिनीयाँ कम्पनी मुख्य साझेदार राखेर प्रस्ताव हालेको हो । तर, अहिले पप्पुको नाम अगाडि आएको छ । सार्वजनिक खरिद ऐन र मौजुदा नियमानुसार पप्पुको प्रस्ताव स्विकृत भइसकेको छ । अब उसले नै ठेक्का पाउनुपर्छ । नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन् ।’

कोइरालाले भने, ‘राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुले नै पाउनुपर्छ । कुनै नियम र कानुनले अब उसलाई रोक्दैन् । पप्पु कालोसुचीमा परेको कम्पनी होइन । कालोसुचीमा परेको भए त उ ठेक्का प्रक्रियामा सहभागी नै हुन पाउँदैन थियो ।’

फरक प्रसंगमा उनले निर्माण व्यवसायीहरुको समस्यालाई सरकारले पनि आफ्नो समस्या ठान्नुपर्ने धारणा राखे । कोइरालाले भने, ‘ठेकेदारहरु २० प्रतिशत खराबी छ भने सरकारको ८० प्रतिशत खराबी छ । सरकारको नियम नै खराब छ। सरकार जवाफदेही बन्नुपर्छ । अहिलेको चलन चल्तीअनुसार सरकार चल्नुपर्छ ।’

मिडिया पप्पुको पछि लाग्नुको कारण आफूले नबुझेको उनले बताए । कोइरालाले भने, ‘पप्पुले गलत गरेको छ भने कारबाही गर्नुपर्छ । समयमै काम गर्न सक्दैन भने कारबाही गर्नुपर्छ । ?’ राष्ट्र बैंकको भवन निर्माणको यो ठेक्कामा पप्पुले दुई अर्ब छ करोड रुपियाँ प्रस्ताव हालेको छ भने अच्युत खरेलको समानान्तरले दुई अर्ब आठ करोड रुपियाँको हालेको छ ।

Advertisement

Advertisement

Advertisement