आफू केपी ओलीको विश्वासपात्र हुँ भन्दै प्रदेशमन्त्री कार्कीले ज्यान लिने धम्की दिएको पीडितको गुनासो

Advertisement

झापा (गौरादह) । प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीय वासिन्दाहरुलाई ज्यान मार्ने धम्की दिएका छन् ।

विगत एक सातादेखि स्थानीय बाटो निर्माण गर्न ठेकेदारलाई दबाब दिने उद्देश्यले आन्दोलनमा उत्रिएका स्थानीयलाई मन्त्रीले नै ज्यान मार्ने धम्की दिएको स्थानीयको गुनासो छ ।

आफूहरुलाई प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र भएको दाबी गर्ने कार्कीले शुक्रबार बिहान ९ बजेर ३० मिनेट जाँदा स्थानीय टंकप्रसाद खनाललाई बाटो अवरोध नखोलेमा ज्यान मार्ने धम्की दिएका हुन् ।

कार्कीले खनाललाई ज्यान मार्ने धम्की दिएपछि शान्ति सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय गौरादह पुगेका खनाललाई प्रहरी सहायक निरीक्षक खड्गबहादुर खड्काले कसैको चिया नखाइ निबेदन दर्ता नगर्ने भनी हप्काइ दप्काई गरेर पठाएको जनाइएको छ ।

शनिबार स्थानीय सरोकारवालसहित प्रहरी कार्यालय पुगेका खनालको उजुरी भने प्रहरी नायव निरीक्षक सुरेन्द्र श्रेष्ठले दर्ता नगरी लिएका छन् । प्रदेश कानुन मन्त्री कार्कीले यसअघि बुधबार २ देखि ३ बजेसम्म टेम्पो चालक सचेन कार्कीको नेतृत्वमा आधा दर्जन गुण्डा लिएर खनालको घर घेरेको पीडितहरुको भनाई छ ।

आफूलाई प्रदेश मन्त्री कार्कीको संरक्षण रहेको भन्दै धम्की दिएका कार्कीबिरुद्ध समेत खनालले प्रहरी कार्यालयमा निवेदन दिएका छन् । प्रदेश १ का मन्त्री कार्की गौरादह नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् ।

गौरादह नगरपालिकाको गौरादह बजारबाट नगरकै वार्ड नं ९ जोड्ने बाटो निर्माणको ठेक्का पाएको निर्माण कम्पनी नागार्जुन विष्णु जेभीले गत जेठ महिनामा सम्झौता विपरित वेस ग्राभेल नगरी पिच गर्न खोजेको र स्थानीयले थाहा पाएर गिटी र ग्राभेल नहाली बाटो पिच गर्न नदिने अडानपछि गौरादह नगरपालिकाका मेयर रोहित साहको रोहबरमा सो सडक पिच गर्न माटो हालेर बेस बनाइएको बाटो भत्काएर हाल गिटी हालिएको पीडित पक्षले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्थानीयको दबाबमा पिच गर्न लागेको बाटो भत्काउनु पर्दा ठेकेदारले घाटा लाग्ने भन्दै गुनासो गरेका थिए । तर सम्झौताबमोजिम बनाउनुपर्ने सो बाटो अहिले ठेकेदारले अलपत्र छोडेर भागेको स्थानीयको भनाई छ । स्थानीय जनताले ठेकेदारलाई या त कारबाही गर्नुपर्ने वा ठेक्का रद्द गर्नुपर्ने माग गरेका छन् ।

तर, प्रदेशमन्त्री कार्कीको दबाबमा सडक डिभिजन कार्यालय दमकले ठेकेदारलाई कारबाही गर्न नसकेको जनाइएको छ । विवाद बढ्दै गएपछि स्थानीयले कात्तिक ११ गते गौरादह नगरपालिकाको डिपु चोकमा राँके जुलुससहित विरोधमा उत्रिएका थिए ।

उनीहरुले निर्माणाधिन धुलाम्मे सडक अलपत्र पारेको बिरोधमा व्यानर, प्लेकार्डसहित नाराबाजी गर्दै गौरादह बजार पूर्व डिठ्ठा चोकबाट प्रदर्शनमा उत्रिएका थिए । निर्माण कम्पनी नागार्जुन विष्णु जेभीसँगको सम्झौताको समय सीमा अनुसार सो सडक निर्माण आउँदो चैत्र महिनामा सम्पन्न हुनुपर्ने छ ।

साढे सात किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गर्न नेपाल सरकारले पाँच करोड ७२ लाख ४२ हजार ८ सय रुपियाँ बजेट बिनियोजन समेत गरिसकेको छ । १९ महिना अगाडि निर्माण सम्झौता भएको गौरादह– बैगुनधुरा– कोरोबारी सडक निर्माण योजना चालु आर्थिक बर्षमा रोकिएपछि स्थानीयहरु आक्रोसित बनेको गौरादह वार्ड नं २ का टोल विकास समितिका अध्यक्ष राजन खनालको भनाई छ ।

सडक कालोपत्रे हुने भयो भनेर उत्साही स्थानीयहरुले सडक चौंडा गर्न स्वतस्फुर्त सडक किनाराका रुख विरुवा, घर टहरा भत्काएर सडक निर्माणमा सहयोग गरेका थिए । आर्थिक बर्ष सुरु भएको पनि १०० दिन बित्ता पनि निर्माण सुरु नभएपछि सडक उपभोक्तहरु आन्दोलित हुन बाध्य हुनुपरेको गौरादह वार्ड नं १ का टोल विकास समितिका अध्यक्ष देबेन्द्र खड्का बताउँछन् ।

स्तरोन्नति गर्न लागिएको सो सडक अर्थमन्त्री युवराज खतिवडा र पूर्वकानुन मन्त्री अग्नी खरेलको गृह नगरसमेत हो । ठेकेदारलाई बचाउनको लागि स्थानीयलाई ज्यान मार्न धम्की दिने प्रदेश मन्त्री कार्की शनिबार पनि गौरादह गएर सो सडक निर्माणको माग गर्नेहरुलाई एक एक गर्दै ठीक गर्ने भन्दै धम्की दिन थालेको पीडित पक्षको भनाई छ ।

उनले प्रधानमन्त्री केपी ओलीकै निर्देशनबमोजिम सडक स्तरोन्नति हुने आश्वासन दिए पनि ठेकेदारलाई काममा ल्याउने कुनै प्रतिवद्धता व्याक्त गरेका नगरेको भन्दै उनीहरुले पूरानो ठेकेदारले पैसा पनि असुल गरिसकेकोले पुनः टेण्डर गरेर सो सडक निर्माण कार्य गर्न प्रदेश मन्त्री कार्कीले यस्तो हर्कत गरेको गुनासो गरे ।

आफ्नो गृहनगर भएर पनि अर्थमन्त्री खतिवडाले भने कुनै चासो नदेखाई प्रदेश मन्त्री हिक्मत कार्कीकै भर परेको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement