वामपन्थी समूहबाट एउटै प्यानलले उम्मेदवारी दर्ता गर्दा लोकतान्त्रिक समूहको तीन वटा

Advertisement

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियशनको आसन्न निर्वाचनका लागि सत्तारुढ वामपन्थी समूहबाट एउटा मात्रै समूहले उम्मेदवारी दिँदा काँग्रेसनिकट लोकतान्त्रिक समूहको भने तीन वटा प्यानलले उम्मेवारी दर्ता गराएको छ ।

लोकतान्त्रिक समूहबाट शेरबहादुर देउवा पक्षकै दुई वटा प्यानल र रामचन्द्र पौडेल पक्षको एउटा प्यानलले छुट्टा छुट्टै उम्मेवारी दर्ता गराएको हो । पौडेल पक्षबाट काठमाडौं इन्जिनियरिङ कलेजका अध्यक्ष हिरेन्द्रमान प्रधानको नेतृत्वको प्यानलले उम्मेदवारी दिएको छ भने देउवा पक्षबाट नेपाल इन्जिनियर्स एशोसियशनका पूर्व उपाध्यक्षद्धय दिलिप झा र शालिकराम सिंह नेतृत्वको प्यानलले छुट्टा छुट्टै उम्मेवारी दर्ता गराएको छ ।

यता वामपन्थी समूहबाट इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राडा त्रिरत्न बज्राचार्य नेतृत्वको प्यानलले उम्मेवारी दर्ता गराएको छ । मुलुकभर रहेका २० हजारभन्दा बढि इन्जिनियरहरुको साझा संगठन नेपाल इन्जिनियर्स एशोसियशनको चुनाव आउँदो मंसिर २८ गते हुँदैछ ।

लोकतान्त्रिक समूहमा विवाद चर्किएपछि काँग्रेसले विमलेन्द्र निधिलाई विवाद मिलाउन जिम्मा दिएको छ । उम्मेदवारी फिर्ता लिने समय मंसिर २ गतेसम्म तोकिएकोले सो बेलासम्म लोकतान्त्रिक समूहमा विवाद नमिले वामपन्थी समूह विजय हुने करिव निश्चित छ ।

पौडेल पक्षलाई नछोड्ने दाउमा रहेको देउवा समूहले दुई वटा प्यानल खडा गर्नुमा दुईमध्ये एकले अर्कोलाई अन्तिममा समर्थन गर्ने र पौडेल पक्षलाइ पनि त्यसमा सहमत गराउन बाध्य पार्ने रणनीति रहेको स्रोतको भनाई छ । विगतमा पनि दुई पटक दुई वटा प्यानल भएर उठेको बेला एशोसियशनको नेतृत्व वामपन्थी समूहमा गएको थियो ।

Advertisement

Advertisement

Advertisement