केन्द्रको अनुमति नलिई थाइल्याण्ड र अमेरिका घुम्ने मुख्यमन्त्री राईको तर्क- अनुमति जरुरी छैन

Advertisement

काठमाडौं । केन्द्र सरकारलाई जानकारी नदिई थाइल्याण्ड र अमेरिका घुमेर आएको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको चौतर्फी आलोचना भइरहेको बेला राईले स्वास्थ्य उपचार र निजी भ्रमण गर्दा केन्द्रलाई सोधिरहनु जरुरी नरहेको तर्क गरेका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीमार्फत प्रतिक्रिया दिन लगाई उपचार र निजी भ्रमण गर्दा केन्द्रलाई सोधिरहनु जरुरी नरहेको तर्क अघि सारेका हुन । उपचार गर्न भन्दै थाइल्याण्ड पुगेका राईको स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या नरहेको पाइएको थियो । त्यहींबाट उनी अमेरिका पुगेका थिए ।

अमेरिका पुगेका थुप्रै विवादास्पद संस्थाहरुको स्वागत तथा सम्मान लिएका उनले आफ्नै सहयोगीहरुलाई लगाएर आफूविरुद्ध समाचार लेख्ने पत्रकार लोकमणि राईलाई कुटपिट गराएका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले उपचार र निजी भ्रमण गर्दा मुख्यमन्त्रीले संघीय सरकारलाई सोध्नुपर्ने जरुरी नभए पनि केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै मुख्यमन्त्री राई थाइल्याण्ड र अमेरिका गएको भन्दै बचाउको प्रयास गरेका छन् ।

कार्कीले मुख्यमन्त्री राई सुटुक्क अमेरिका गएको कुरामा सत्यता नभएको जिकिर गरे । लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्य मन्त्री राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल अस्पतालमा परीक्षणका लागि गएको उनले बताए ।

राई यही गएको कात्तिक १६ गते बैंकक गई स्वास्थ्यमा कुनै समस्या नभएको पाइएपछि अमेरिका हानिएका थिए । अमेरिकामा पत्रकारलाई कुटपिट गरिएको विषयलाई मुख्यमन्त्री राईको भ्रमणसँग जोड्न आवश्यक नभएको मन्त्री कार्कीले तर्क गरे ।

Advertisement

Advertisement

Advertisement