‘निजी र सहकारी दुई हात, स्थानीय सरकार दिमाग’

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले निजी र सहकारी क्षेत्र प्रदेश र स्थानीय सहकारका दुई हात रहेको र स्थानीय सरकार दिमाग भएको तर्क प्रस्तुत गरेका छन् ।

सहकारीसम्वन्धी एक गोष्ठीको शुक्रबार उदघाटन गर्ने क्रममा उनले दिगो विकास लक्ष्य प्राप्तिका लागि स्थानीय तहले यी दुवै हातलाई सहिरुपमा चलाउनुपर्ने बताए । खतिवडाले भने, ‘सहकारी र निजी स्थानीय सहकारका दुई हात हुन् भने दिमाग स्थानीय सरकार हो । मुख मात्र चलाएर विकास हुँदैन त्यसैले यी दुइ क्षेत्रलाई भूमिका दिन तयार हुनुपर्छ ।’

उनले सहकारीको पुँजीलाई उद्योग पूर्वाधारमा लगानी गर्न केही कानुनी अवरोध रहेको औल्याउँदै त्यसलाई सच्चाउने बताए । उनले बजारीकण र प्रशोधनको चुनौती समाधान गर्न स्थानीय तहले सहकारीसँग हातेमालो गर्नुपर्ने बताए ।

खतिवडाले थपे, ‘उत्पादन प्रशोधनमा चुनौती छ । जस्तै सहकारीमार्फत दुध उत्पादन भएको छ तर डेरी सहकारी तयार भए्को छैन । मिल्क होलिडे गर्नुपर्ने अवस्था रहेको छ । तर यसलाई प्रशोधन गरेर दीर्घकालिन खाद्य पदार्थ बनाउनका लागि स्थानीय तहले सहकारीलाई सहयोग गर्नुपर्छ ।’

बीउबिजन वितरण, पशु चिकित्सा जस्ता सेवामा सहकार्य गर्नका लागि सहकारीलाई आव्हान गर्दै खतिवडाले उत्पादनको साधन जमिन मात्र नभएर पुँजी, प्रविधि र कृषि सामग्री रहेको र पँुजी निर्माणमा सहकारी सक्षम रहेकोले त्यसलाई स्थानीय तहले प्रयोग गर्नुपर्ने बताए ।

उनले स्थानीय तहले कृषि थोक बजार बनाइदिएर बजारलाई व्यवस्थित गर्न समेत आग्रह गरे । साथै खतिवडाले प्रदेश तथा स्थानीय तहले आफ्नो बजेट, नीति–नियम तथा कार्यक्रम बनाउने सहकारीको भूमिलाई स्पष्टसँग उल्लेख गरेर राख्न आग्रह गरे ।

सरकार पुग्न नसक्ने र निजी क्षेत्र जान नचाहने क्षेत्रमा सहकारीले भूमिका निर्वाह गर्न सक्ने औल्याउँदै उनले भने, ‘सहकारीको परिपूरक भूमिका हुन्छ प्रतिस्पर्धात्मक भूमिका जरुरी छैन ।’ खतिवडाले स्थानीय तहले सहकारी, निजी क्षेत्र, संघ प्रदेशसँग सहकार्य गर्ने हो प्रतिस्पर्धा होइन भन्ने कुरामा जोड दिए ।

उनले भने, ‘समावेसीभित्र समन्वयकता खोज्दा सहकारी आउँछ । क्षमता अनुसार उत्पादनमा सहभागी हुन्छ र योगदानको आधारमा हिस्सा पाउँछ यो समन्वययिकता हो ।’ मन्त्री खतिवडाले सहकारीमार्फत उत्पादक शक्तिलाई सामूहिकीकरण गर्न, न्यायपूर्ण समाज निर्माण गर्न र नागरिकलाई उत्पादनसँग जोड्न स्थानीय तहले भूमिका खेल्न सक्ने बताए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी अभियान दिगो विकास लक्ष्य प्राप्तिका लागि सक्षम रहेको जिकिर गरे । साँसद पशुपति चौलागाईले सहकारी र एनजीओ फरक रहेकोले स्थानीय जनप्रतिनिधिले त्यसैगरी बुझिदिनुपर्ने बताए ।

महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले राजनीतिक नेतृत्व र प्रशासकहरुले सहकारीसँग सहकार्य गर्नुपर्ने धारणा राखिन् ।

Advertisement

Advertisement

Advertisement