कान्तिपुर सहकारीका १२ जना सञ्चालकविरुद्ध डेढ अर्बको ठगी मुद्दा दायर

Advertisement

काठमाडौं । राजधानीको मीनभवनस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका १२ जना सञ्चालकविरुद्ध प्रहरीले ठगी मुद्दा दायर भएको छ ।

संस्थाका सदस्यहरूको पैसा हिनामिना गरेको अभियोगमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । 

Advertisement

सहकारी संस्थाका ८५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी सहकारी ठगीको मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार हालसम्म एक जना सञ्चालक पक्राउ परेका छन् । बाँकी फरार छन् । उनीहरूलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको छ । 

प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी गत महिना अनुसन्धान थालेको थियो । संस्थाका पूर्वअध्यक्ष सिबी लामा,  सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धव पाण्डे र अम्बिका थपलिया फरार छन् । 

कान्तिपुर सहकारीलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गरिसकेको छ । यस सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपियाँ फँसेको छ । उक्त पैसा लिन सदस्यहरुले पटक पटक सहकारीको कार्यालयदेखि सहकारी विभागमा समेत धर्ना दिँदै आएका थिए । पछि जारी थपिँदै गएपछि समस्याग्रस्त घोषणा गरिएको हो । 

सञ्चालकहरूले नियमविपरीत संस्थाको पैसा निजी व्यवसायमा लगाएर फिर्ता गर्न नसकेको प्रहरकिो भनाई छ । उनीहरुले सदस्यको पैसा अस्पताल, रिसोर्ट तथा घरजग्गामामा लगानी गरेको पाइएको छ । 

Advertisement

Advertisement