उपेन्द्र यादव भन्छन्– अबको हिउँदे अधिवेशनमा चाहीं संविधान संशोधन पक्का हुन्छ

Advertisement

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘यो संविधानले देश चल्दैन् । जति चाँडो संविधान संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ ।’

यसअघि पटक पटक संविधान संशोधन नभए सरकार छोड्ने चेतावनी दिएर पनि सरकारमै बसिरहेको संघीय समाजवादी फोरमका नेता यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे ।

उनले भने, ‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।’

यादवले थपे, ‘संविधान संशोधन गराउनको लागि हाम्रो प्रयत्न भैरहेको छ । संविधान संशोधन नभएसम्म मुलुकले स्थिरता पनि पाउँदैन् । अहिले मुलुक अलमलिएको छ । मुलुकलाई यो अलमलपनाबाट बाहिर निकालेर अब अगाडि बढाउनुपर्छ । यसको लागि चाँडोभन्दा चाँडो संशोधन संशोधनको विद्येयक अगाडि बढाउनुपर्छ ।’

मन्त्री यादवले संसदको यही चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विद्येयक दर्ता हुने र पारित हुने पनि दाबी गरे । उनले भने, ‘यदि संशोधन प्रस्ताव दर्ता भएन भने जनतामा सरकारप्रति अविश्वास हुन्छ । जनताको विश्वास गुमेपछि राजनीति काम लाग्दैन् ।’

सरकारको दश महिनाको उपलब्धि के हो ? त भनेर सोधिएको प्रश्नमा उनले भने, ‘सरकारको उपलब्धि भनेको निरन्तर सरकार चलिरहेको छ । हामीले यो सरकार दुई तिहाई हो भनेर भन्न पाएका छौं । सरकार स्थिर छ । कसैले हल्लाएर हल्लिँदैन् । संसदमा विपक्षी छैन । सत्तापक्षका नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन् । सरकारलाई हाईसञ्चो छ ।’

मन्त्री यादवले सरकारले यो दश महिनाको अवधिमा मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको, जंगबहादुर राणाले बनाएको १८५४ को मुलुकी ऐन प्रतिस्थापन गरेको, केही समयलाई भएपनि राजनीतिक स्थिरता भएको र प्रयास गर्दा अब विकासको लागि आधार तयार भएकोलगायत सरकारले गरेका राम्रा कामको फेहरिस्त सुनाए ।

Advertisement

Advertisement

Advertisement