अब नयाँ मदिरा उद्योग पनि खोल्न नपाइने, खुल्न लागेकालाई पनि अनुमति नदिइने

Advertisement

काठमाडौं । सरकारले मदिराको बिक्री बितरणलाई नियन्त्रण गर्ने उद्देश्यले जारी गर्न लागेको ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’अनुसार तत्काल कुनै पनि नयाँ मदिरा उद्योग खोल्न नपाइने भएको छ ।

मदिराको बढ्दो प्रयोगले समाजमा अपराध र महिला हिंसा बढेको भन्दै सरकारले यसमा कडाई गर्न लागेमा स्वदेशी लगानीका मदिरा उद्योगहरुले भने केही बहुर्राष्ट्रिय कम्पनीको स्वार्थमा परेर सरकारले अबौं रुपियाँ लगानी भएको क्षेत्रलाई नियन्त्रण गर्न लागेको गुनासो गरेका छन् ।

गृह मन्त्रालयले जारी गर्न लागेको यस आदेशलाई स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको छ । यस आदेशअनुसार नयाँ मदिरा उद्योग खोल्न पाइने छैन भने बिक्री बितरणमा पनि व्यापक नियन्त्रणको तयारी गरिएको छ ।

सरकारको नियम टुबोर्ग जस्ता बियरहरु बिक्री गर्ने कम्पनीलाई कुनै असर नपर्ने तर रक्सीहरु उत्पादन गर्दै आएका स्वदेशी लगानीका दर्जनौ उद्योगहरु धरासायी हुने भन्दै व्यवसायीहरुले सरोकारवालाहरुसँग छलफल नगरी ल्याइएको नियम कार्यान्वयन गर्न कठिनाई रहेको बताएका छन् ।

मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशमा ५० प्रतिशत पूर्वाधार तयार गरिसकेका मदिरा उद्योगले पनि अनुमति नपाउने, ‘नयाँ उद्योगलाई दर्ता तथा अनुमति दिने, भएका उद्योगहरुको क्षमता विस्तार गर्ने कार्य हाललाई स्थगित गरिने छ ।

त्यस्तै, नयाँ नियमअनुसार गाउँपालिकाको एउटा वडामा एउटा मात्रै मदिरा बिक्री केन्द्र, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडामा दुईवटासम्म मदिरा पसल खोल्न अनुमति दिइने छ ।

गृहमन्त्रीको गृह प्रशासन सुधारसम्बन्धी ८२ बुँदे कार्ययोजनाअनुसार मदिरा तथा लागुऔषध नियन्त्रणका लागि कडाई गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । स्थानीयस्तरमा भएका छलफल र प्रहरीको सुझावका आधारमा मदिराको कारोबार र बिक्रीलाई व्यवस्थित गर्न लागिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको भनाई छ ।

केही समयअघि पोखरामा एक युवकले मदिराको नशामा बालिकाको बलात्कार गरी हत्या भएपछि मदिरा बिक्रीमा कडाई गर्न आवाज उठेको थियो । यस्ता घट्नाहरु थुप्रै हुने गरेकोले र खुल्लारुपमा मदिरा पिएर समाजमा होहल्ला गर्ने, अपराधिक गतिविधि गर्ने कुराहरु बढ्न थालेकाले महिराको बिक्री र सेवन गर्ने कुरामा कडाई गर्न लागिएको सुवेदीको भनाई छ ।

जसअनुसार अब मदिरा बिक्रीवितरण गर्न इजाजत प्राप्त फर्म, कम्पनी वा व्यक्तिले मदिरा बिक्रीवितरण गर्दा मदिरा खरिद गर्नेको पहिचान खुल्ने कागजात हेरी उसको नाम, ठेगाना र उमेरको अभिलेख राख्नुपर्ने, इजाजत प्राप्त निकाय वा व्यक्तिले बेलुकी ५ देखि १० बजेसम्म मात्रै मदिरा बिक्री गर्न पाउने, धार्मिक, शैक्षिक तथा सार्वजनिक स्थलबाट कम्तीमा ३ किलोमिटर टाढामात्रै मदिरा उद्योग सञ्चालन गर्नुपर्ने, मदिरा उद्योगलाई आवास क्षेत्रबाट दुई किलोमिटर टाढा सञ्चालन गर्नुपर्ने, सार्वजनिक क्षेत्र एवं कार्यस्थल आसपास मदिरा उत्पादन गर्न नपाइने, विश्व सम्पदा सूचीमा सूचीकृत स्थानबाट पाँच सय मिटर टाढासम्म मदिरा पसल खोल्न र पिउन नपाइने, स्थानीय तहको सिफारिसमा सम्बन्धित वडाले कुनै धार्मिक, सांस्कृतिक, शैक्षिक स्थल वा अन्य कुनै स्थानलार्ई औचित्यका आधारमा चार किल्ला खुलाई मदिरा निषेधित क्षेत्र तोक्न सक्ने, सञ्चारमाध्यमबाट मदिरा तथा मदिराजन्य पदार्थ उत्पादनको विज्ञापन, प्रकाशन तथा प्रसारण गर्न, सार्वजनिक स्थानमा मदिरा वा मदिराजन्य विज्ञापन राख्न र मदिरा कम्पनीले कुनै पनि किसिमको कार्यक्रमको प्रायोजन गर्न नपाउने जस्ता प्रावधानहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement