निर्मलामाथि सामूहिक बलात्कार भएको प्रहरी अनुसन्धानको निष्कर्ष

Advertisement

काठमाडौं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सिआइबीको टोलीले उनीहरूलाई धनगढी हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।

घटनालगत्तै महेन्द्रनगर खटाइएका सिआइबीका अंगुर जिसी निलम्बनमा परेपछि अनुसन्धानमा पठाइएका डिएसपी कमल थापाको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो । समूहका एक सदस्यका रूपमा प्रदीप रावल मंगलबारदेखि नै प्रहरी वृत्त महाराजगन्जको थुनामा छन् ।

‘अहिलेसम्मको अनुसन्धानमा सामूहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ । त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ । अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ,’ एक प्रहरी अधिकारीले भने । यद्यपि, डिएनएलगायत प्राविधिक परीक्षणको रिपोर्टबाट मात्र वास्तविकता पत्ता लाग्ने प्रहरी अधिकारीहरू बताउँछन् । डिएनए रिपोर्ट पर्खनकै लागि प्रहरीले प्रदीपलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा म्याद थप गरेर थुनामा राखेको छ ।

पक्राउ परेकाहरू लागुऔषध दुव्र्यसनी रहेको र विगतमा पनि अपराधमा जोडिएको प्रहरी स्रोतको दाबी छ । घटनाको दिन निर्मलाको शव भएकै क्षेत्रमा उनीहरूको उपस्थिति देखिएको र घटनापछि शंकास्पद गतिविधि देखाएकाले पनि उनीहरूलाई पक्राउ गरेरै अनुसन्धानको दायरामा ल्याइएको प्रहरीको भनाइ छ । त्यस्तै काठमाडौंमा पक्राउ परेका प्रदीपले निर्मलासँग चिनजान भएको भन्दै हिँडेको पत्ता लागेको पनि प्रहरीले जनाएको छ । निर्मला आफ्नो गर्लफ्रेन्ड भनेर आफूले केही ठाउँमा गफ दिएको उनले प्रहरीसँग पनि स्विकारेका छन् ।

पक्राउ परेकामध्ये केहीले अपराध स्वीकार गरे पनि नतिजा भने डिएनए रिपोर्टमै निर्भर हुने स्रोत बताउँछ । अभियुक्तले साबिती बयान नै दिए पनि डिएनए रिपोर्ट नमिलेमा मुद्दा नचल्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले छिटो प्रक्रियाबाट उनीहरूको डिएनए परीक्षण गराउँदै छ ।

यसअघि दिलीपसिंह विष्टले पनि सुरुमा प्रहरीसँग साबिती बयान दिएका थिए । विष्टलाई प्रहरीले अभियुक्तका रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । तर, पछि डिएनए रिपोर्ट नमिलेपछि नक्कली अभियुक्त खडा गरेको भन्दै आन्दोलन चर्किएको थियो । त्यसैले पक्राउ परेका व्यक्तिहरूविरुद्ध बलियो प्रमाण संकलन भए मात्र औपचारिक रूपमा बोल्ने प्रहरी तयारी छ ।

पक्राउ परेका विशाल चौधरीकी आमा सलमती भन्छिन् ‘चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध गरेको छैन’

कुखुरा चोरेको आरोपमा ९ साउनमा पुलिसले लगेको थियो, १० गते म जमानी बसेर छुटाएर ल्याएकी हुँ, त्यही दिन घटना भएछ, ऊ घरमै थियो ।

चार–पाँच दिनअघि बिहान राम्ररी उज्यालो पनि भएको थिएन । हाम्रो छोरो (विशाल) त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै लगे । दिनभर केरकार गरेर बेलुका छाडिदिए ।

अर्को दिन फेरि समातेछन्, दिनभर केरकार गरेर छाडिदिए । यसरी कहिले घरबाट, कहिले पसलबाट त कहिले बाटोबाटै समातेर लग्ने र छोड्ने गरिरहेका थिए ।

हामी ज्यालादारीमा काम गर्छौँ, हिजो (बुधबार) दिनभर काम गरेर साँझ फर्किएका थियौँ, छोरालाई फेरि समातेछन्, बाटोबाटै पक्रेर पुलिसले लग्यो भन्दै उसका साथीहरू आए । छुटाउन गयौँ । तर, उसलाई भित्र राखिएको थियो, तपाईंहरू गेटबाहिर बस्नोस् भनेर हामीलाई धपाइदियो ।

राति उसलाई उतै राख्ने भए, हामी घर आयौँ । तर, सुत्न सकेका थिएनौँ । राति १२ बजेतिर गाडी लिएर पुलिस आए, विशालका सारा कपडा उठाएर लगे, थोत्रा चप्पल पनि छाडेनन् ।

बिहान हामी पुलिस कार्यालय गयौँ, भित्र जान दिएन । अब तिम्रो छोरालाई काठमाडौं लग्ने हो, तिमी पनि जानुपर्छ, २ बजे तयार हुनू भनेर मेरो श्रीमानलाई पुलिसले भने । पुलिसले भनेपछि मान्नैपर्यो, पक्राउ परेका अरूलाई पनि गाडीमा राखेर धनगढी लगे, त्यहाँबाट जहाजमा काठमाडौं लगे भन्ने सुनेकी छु, अरू जानकारी पाएकी छैन ।

चार–पाँच दिनयता हरेकपटक पक्राउ गर्दा निर्मलाको केसबारे सोधपुछ गर्छन् भनेर छोराले भनेको थियो । तर, त्यो केसमा मेरो छोराको दोष छैन । किनकि १० साउनमा निर्मलाको घटना भएको भन्ने सुनेकी छु । ९ साउनमा मेरो छोरालाई पुलिसले पक्राउ गरेको थियो । हाम्रै गाउँको एउटा मान्छेले कुखुराको मासुको व्यापार गर्छ । उसको कुखुरा हराएको रहेछ । चोरीमा मेरो छोराको नाम लिएको रहेछ, त्यसैले पुलिसले उसलाई पक्रेको थियो । त्यो रात विशाल थुनामै बस्यो ।

भोलिपल्ट बिहानै म गएकी थिएँ, म जमानी बसेपछि विशाललाई पुलिसले छाडिदियो । हामी दिउँसो ११ बजेतिर घर आयौँ, खाना खायौँ, दिनभर कतै गएनौँ । मैले विशाललाई पनि कतै जान दिइनँ, किनकि जमानीमा बसेर ल्याएकी थिएँ । भोलिपल्ट साउन ११ मा फेरि पुलिसको वडा कार्यालयमा लिएर गएँ । तर, कुखुरा हरायो भन्ने मान्छे आएन । पुलिस सरहरूले फोन गर्दा पनि आएन । त्यसैले हामीलाई छाडियो । त्यसपछि प्रहरीले मेरो छोरालाई अहिलेसम्म सोधखोज नै गरेको थिएन ।

मेरो छोराले के–के औषधि पनि खान्छ भनेर हल्ला चलेको सुनेकी छु । दारु खाएको थाहा छ, त्यस्तो औषधि खाएको मलाई थाहा छैन । बरु एकपटक एउटा पसलबाट बिस्कुट, चाउचाउ चोर्यो भनेर पनि पुलिसले लगेको थियो । यसअघि पनि चोरीको केसमा पुलिसले लगेकोे हो, तर त्यस्तो अपराध गरेको भन्ने गलत हो ।

बुबाआमा भारत बेंग्लोरमा, छोरा प्रदीप एक्लै घरमा
काका बलबहादुर भन्छन्, ‘दोषी भए कारबाही होस्, तर दिलीपसिंह विष्टलाई जस्तै अन्याय नहोस्’

भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ । जहाँ प्रदीप रावल एक्लै बस्छन् । विपन्न परिवारका उनले स्थानीय बैजनाथ माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा बेंग्लोरमा छन् ।

एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्रनगर बजारमा व्यवसाय गर्दै आएका उनले भने, ‘प्रदीपलाई पनि राम्रोसँग पढ्ने भए पढाइदिन्छु भनेको थिएँ, तर उसले साथीसंगतको लहलहैमा पढाइ छाड्यो ।’ निर्मला पन्तको हत्या आशंकामा काठमाडौंमा पक्राउ परेका युवक प्रदीप लागुऔषध दुव्र्यसनी हुन् । उनी चोरी र डकैतीमा संलग्न रहेको स्थानीय बताउँछन् । तर, निर्मला प्रकरणमा उनी दोषी छन् कि छैनन् भन्ने अनुसन्धानकै विषय छ ।

निर्मलाको हत्या भएको स्थानभन्दा ६ सय मिटर पश्चिमतर्फको पाले चौधरीको मासुपसलबाट पैसा, ग्यास र कुखुरा चोरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको एक स्थानीयले बताए । सोही आरोपमा पक्राउ परेका विशाल चौधरी पनि निर्मला प्रकरणमा पक्राउ परेका छन् । पाले चौधरीको पसल निर्मलाकी साथी रोशनी बमको घरनजिकै पर्छ ।

काका बलबहादुर भन्छन्, ‘निर्मला हत्याकाण्डमा दोषी भए उसले सजाय भोग्नुपर्छ । तर, दिलीप विष्टलाई झैँ फसाउन मात्रै खोजिएको भए गरिबमाथि अन्याय हुन्छ । सरकारले त्यस्तो नगरोस् ।’
आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement