बैंकहरुको ब्याजदर बढाउने विषय तत्कालका लागि रोकियो

Advertisement

काठमाडौं । बैंकहरुले तत्कालका लागि ब्याजदर नबढाउने भएका छन् ।  बैंकर्स संघको भद्र सहमति अनुसार ब्याजदर बढाउने बैंकहरुको तयारी तत्कालका लागि रोकिएको हो ।

बैंकहरुले व्याज बढाउने विषयले वित्त बजारमा प्रभाव पार्ने भन्दै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले असन्तुष्टि जनाएको थियो ।
ब्याजदर बढाउने विषयलाई लिएर वाणिज्य बैंकका सीईओहरु र अन्य केही बैंकका डेपुटी सीईओबचि तिब्र बहस भएलगत्तै तत्काललाई व्याज नबढाउने भद्र सहमति भएको बैंकर्स संघले जनाएको छ ।

केही बैंकले निक्षेपमा १३.५ बढी व्याज दिने तयारी गरिसकेका थिए । ब्याज बढाउने प्रतिस्पर्धाले एउटा बैंकको निक्षेप अर्को बैंकमा जाने अबस्था मात्रै सिर्जना हुने वैंकर्सको धारणा छ । यद्यपि संघको औपचारिक सहमति भईसकेको छैन ।
यता नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले पनि बैंकहरुले तत्कालका लागि व्याजदर नबढाउने कुरा बैंकहरुबाटै आएको बताएका छन् ।
पछिल्लो समय निक्षेपको व्याजदर बढेर १३ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।
मंगलबार मात्रै पनि बैंकको नेपाल उद्योग वाणिज्य महासंघले गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटी व्याजदरको विषयमा असन्तुष्टि जनाएको थियो ।

यसैबीच अर्थमन्त्रालयले व्याजदर र पुँजी बजारको विषय अध्ययन गर्न, राष्ट्र बैंककै डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र पुँजी बजार लगानीकर्ताका तर्फबाट नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल छन् ।
समितिले यही शुक्रबारसम्म प्रतिवेदन वुझाउने तयारी गरेको छ ।

समितिको अध्ययन प्रतिवेदनपछि आवश्यक निर्णय गरिने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए ।

बुधबार बस्ने भनिएको बैठक, समितिका सदस्य धितोपत्र बोर्डका अध्यक्ष कार्की उपस्थित नहुनेभएपछि रोकिएको थियो ।

Advertisement

Advertisement

Advertisement