आधुनिक ढल प्रशोधन केन्द्र स्थापना गर्ने चार दशक पूरानो योजना साकार हुने संकेत

Advertisement

ललितपुर । जग्गा अधिग्रहण गरेर ४३ वर्षमा बन्न नसकेको ढल प्रशोधन केन्द्र अब बन्ने संकेत देखिएको छ । ललितपुरको बालकुमारीमा बन्न लागेको केन्द्रको बुधबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बालकुमारीसहित उपत्यकाका अन्य ५ स्थानमा केन्द्र निर्माणको काम सुरु गर्न लागेको हो ।

निर्देशनालयका अनुसार बालकुमारीमा निर्माण हुने प्रशोधन केन्द्र धोबीघाट, सल्लाघारी, गुह्येश्वरीको भन्दा अत्याधुनिक र वातावरणमैत्री हुनेछ । कुल ६० करोड ७५ लाख लागतमा बन्न लागेको केन्द्रको निर्माण चिनियाँ कम्पनी साफबन वाटर सर्भिस (होल्डिङ) गर्दै छ ।

योजनाको अवधि ०७४ वैशाखदेखि ३० महिना ०७६ कात्तिकसम्म छ । प्रधानमन्त्री ओलीले जुनसुकै काम पनि आत्मविश्वासका साथ अघि बढेमा परिवर्तन ल्याउन गाह्रो नभएको बताए । ‘केन्द्र ५ वर्षपछि नेपालीले सञ्चालनमा ल्याउँछौ,’ उनलेभने, ‘विदेशीको मात्र नभई नेपाली सीपको पनि विकास गर्न जुरुरी छ ।’

सम्झौता अनुसार निर्माण सम्पन्न भएको ५ वर्षसम्म चिनियाँ कम्पनीले नै सञ्चालन तथा मर्मत गर्नेछ । उपत्यकामा बन्न लागेको गुह्येश्वरी बाहेक अन्य केन्द्र निर्माण सम्पन्नपछि सम्बन्धित ठेकेदारले ५ वर्षसम्म सञ्चालन तथा मर्मत गरिने सम्झौतामा उल्लेख छ ।

निर्देशनालयका अनुसार प्रशोधन क्षमता प्रतिदिन १ करोड ७५ लाख लिटर, प्रतिसेकेन्ड २ सय २ लिटरको छ । दुर्गन्ध न्यूनीकरण इकाई जडित हुने केन्द्रले गठ्ठाघर, मनोहरा, बालकुमारीलगायतका क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ८० हजार जनसंख्यालाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले केन्द्रमा फोहोर पानी प्रशोधन गर्न स्वचालित नियन्त्रण गर्न मिल्ने आधुनिक मेसिन जडित हुने बताए ।

उनले प्रशोधित पानी सफाइ र सिँचाइका लागि पनि प्रयोग गर्न सकिने बताए । ‘केन्द्रबाट उत्पादन हुने ऊर्जाले केन्द्र सञ्चालन गर्न आवश्यक ऊर्जाको आंशिक आपूर्ति गर्नेछ,’ उनले भने, ‘मल कृषिमा प्रयोग गर्न सकिनेछ ।’
आजको कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement