‘नेकपाका साँसदहरु ! प्रधानमन्त्रीलाई गलत सल्लाह नदेउ, केसीसँगको सम्झौता पालना गर्न देउ’

Advertisement

काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लवमा आइतबार उनले भने, ‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आफै पहल गरेर भए पनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस् भनेर म यही मञ्चबाट आग्रह गर्दछु ।’

श्रेष्ठले प्रधानमन्त्री ओलीले डाक्टर केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने बताए । सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको सुझाव छ ।

श्रेष्ठले सरकारले कु–सोच राख्न नहुने धारणा राखे । उनले भने, ‘आवश्यक पर्यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं ।’ सरकारले अहिले दम्भ र उत्तेजना देखाउन बेला नभएको पनि श्रेष्ठले तर्क गरे ।

गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरुको अभियन्ता पनि भएको उनले बताए । श्रेष्ठले भने, ‘जनताले संघर्ष गर्दा मुलुकमा भएका शक्तिशाली संस्थाहरु पनि धराशयी भएका इतिहास छ ।’

उनले आफूहरु डाक्टर केसीको पृष्ठपोषक नभएको पनि जिकिर गरे । श्रेष्ठले भने, ‘डाक्टर केसीले उठाएका मागहरु त कम्युनिष्ट सरकारले उठाउनुपर्दथ्यो । कम्युनिष्ट सरकारले उठाउनुपर्ने कुरा उठाईदिनुभएको छ ।’ उनले डाक्टर केसी संघको आजीवन सदस्य भएकोले उनको जीवन रक्षाको लागि सरकार गम्भीर बन्नुपर्ने पनि बताए ।

अध्यक्ष श्रेष्ठले वर्तमान सरकारले डाक्टर केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा गुनासो पोखे । उनले भने, ‘सरकारले कि नसक्ने भए हामी सक्दैनौं भनेर पहिल्यै भन्नुपर्दथ्यो । तर, सम्झौता गरेपछि लागु गर्नुपर्छ ।’

Advertisement

Advertisement

Advertisement