गाउँघरकै उद्यमबाट मासिक दुई लाख आम्दानि

Advertisement

गलेश्वर ।  म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरका एक युवाले रेडियो, टिभी र मोबाइल मर्मत पसल सञ्चालन गरेका छन् । साथै उनले मासु पसलसमेत सञ्चालन गरेर मासिक रु दुई लाखभन्दा बढी कमाइ गर्दै आएका छन् ।

रत्नेचौरमा विनोद एण्ड विजय फ्रेस हाउस सञ्चालन गर्नुका साथै रेडियो, मोबाइल र टिभी मर्मतको काम गर्दै आउनुभएका २६ वर्षीय विन्दु थापाले गाउँमा नै बसीबसी मासिक दुई लाखभन्दा बढी कमाइ गर्न सफल भएका छन् । थापाले विगत छ वर्षदेखि गाउँमानै विद्युतीय सामानको मर्मत र बिक्री गर्दै आएका थिए । चार महीना अघि गत असोजदेखि उनले सोही ठाउँमा मासु पसल पनि सञ्चालन गर्न थालेपछि उनले आफ्नै घरमा बसीबसी मनग्य आम्दानी गर्न सफल भएका हुन्।

त्यसका अतिरिक्त थापाले घरमा नै कुखुरा, बाख्रा र हाँस पनि पालेका छन् । खोरमा ५०० कुखुरा, १५ वटा बाख्रा र हाँस छन् । त्यसको रेखदेखसाथै मोबाइल, टिभी र अन्य विद्युतीय सामानको मर्मत तथा बिक्री गर्न भ्याइनभ्याइ हुने थापालाई मासु पसल शुरु गरेपछि एकछिन पनि फुर्सद नहुने रत्नेचौरका अगुवा युवा एकेन्द्र महतले बताए ।

घर वाइरिङ गर्नुका साथै सम्पूर्ण विद्युतीय सामान मर्मत गर्ने सीप भएका थापालाई म्याग्दी र बागलुङका विभिन्न गाउँबाट सामान मर्मत र घर वाइरिङका लागि बोलाउन थालेपछि उनको  व्यवस्तता झन बढेर गएको छ । “हातमा सीप हुने र तनमा जाँगर हुने हो भने गाउँघरमा नै बसीबसी जापान, कोरियामा कमाइने भन्दा बढी कमाउन सकिन्छ”, थापाले भने, “समयानुकूल व्यापार गर्न सकियो र अल्छी गरिएन भने घरगाउँमा नै प्रशस्त पैसा कमाइन्छ ।”

Advertisement

Advertisement

Advertisement