नेविसंघ अधिवेशनमा काँग्रेस नेताबीच कुटाकुट, देउवा पक्ष कुट्न आएको पौडेल पक्षको गुनासो

Advertisement

ओखलढुंगा । नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन उदघाटनका क्रममा विवाद भएपछि संघको माउ पार्टी नेपाली काँग्रेसका नेताहरुबीच नै कुटाकुट भएको छ । विधिअनुसार महाधिवेशन गर्न माग गर्दा देउवा पक्षले हात हालेको पौडेल पक्षको गुनासो छ ।

अधिवेशन उद्घाटनका क्रममा सोमबार साँझ विवाद भएपछि मञ्चमै हात हालाहाल भएको हो । जिल्ला सभापतिसमेत रहेका शेरबहादुर देउवा पक्षका नेता प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालले रामचन्द्र पौडेल पक्षका नेता बालकृष्ण दाहाल, पूर्व सभापति गोमा केसीमाथि हातपात गरेका हुन् ।

हातपात गर्दा दाहालको चस्मा फुटेको छ आँखामा चोट पनि लागेको छ । उनको सामुदायिक अस्पताल स्रोब्रुमा आँखाको उपचार गरिएको छ । दाहाल र केसीले आफूहरुमाथि सुनुवारसमेत मिलेर आक्रमण गरिएको पत्रकार सम्मेलन गरेर बताए । उनीहरुले सुनुवारलाई पार्टीबाट बर्खास्त गर्न पनि माग गरे ।

अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्न र नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउन माग गरेका थिए । तर संस्थापन पक्षले पार्टीका जिल्ला सभापतिलाई प्रमुख अथिति बनाउने र नाम पनि सार्वजनिक गर्न नमानेपछि असन्तुष्ट पक्षले मञ्चमै गएर विरोध जनाएका थिए । सोही क्रममा सभापति प्रदीप सुनुवारसहितले उनीहरुमाथि आक्रमण गरेको प्रत्यक्षदर्शी नेविसंघका कार्यकर्ता सुजन दाहालले बताए ।

झडपपछि असन्तुष्ट पक्षले कार्यक्रम बहिष्कार गर्दै आक्रमणकारीहरुलाई कारवाही गर्न माग गर्दै आएका छन् । उनीहरुले एकपक्र्षीय रुपमा नेविसंघको जिल्ला कार्यसमिति चयन गर्न खोजिएको भन्दै निष्पक्षरुपमा निर्वाचनको माग पनि गरेका छन् । केन्द्रीय प्रतिनिधि तोकिएका पवन नेपालीले विधि मिचेर पार्टीले हस्तक्षेप गरेको आरोप लगाउँदै अधिवेशन स्थगनको विज्ञप्तिसमेत निकालेका थिए ।

पछि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अर्का प्रतिनिधि खटाएर अधिवेशनको बन्दसत्र चलाए पनि असन्तुष्ट पक्ष भने सहभागी भएको छैन् । उनीहरुले देउवा पक्षले विधि मिचेर अधिवेशन गरेको भन्दै महिना नेतृमाथि समेत दुव्र्यवहार गर्ने सभापति सुनुवारलाई तत्काल पार्टीबाट हटाउनुपर्ने अडान राख्दै आएका छन् । असन्तुष्ट पक्षले घटनाको छानविनका लागि पार्टी नेतृत्वसँग माग पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement